Logo

चीनमा आँधीले तीन लाख मानिस विस्थापित



बेइजिङ, ११ साउन । चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । हावाहुरीसँगै परेको बर्षाले पूर्वी चीनमा बिहीबार सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको मृत्यु भएको छ ।

आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण बिहीबार ताईवानका केही सहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ ।

फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र बर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ भने यसका कारण २० जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको मनिलामा बिहीबार १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि ईन्धनको प्रदूषण फैलिनबाट रोक्ने पहलहरू गरिएको छ ।

उक्त ट्याङ्कर बिहीबार बिहान चीनको पूर्वी फुजियान प्रान्तमा जाने क्रममा दुर्घटना भएको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

चिनियाँ अधिकारीहरूले भारी वर्षा र गेमी नाम दिइएको चक्रवातले विपत्ति निम्त्याउन सक्ने चेतावनी बिहीबार नै दिएका थिए ।

उनीहरूले फुजियानमा दुई लाख ९० हजारभन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरेको जनाउदै केही सहरमा सार्वजनिक यातायात, कार्यालय, विद्यालयलगायत बजार बन्द भएको जनाएका छन् ।

छिमेकी झेझियाङ प्रान्तमा चिनियाँ राष्ट्रिय टेलिभिजन सिसिटिभी र अन्य चिनियाँ सञ्चारमाध्यममा शुक्रबार प्रशारण भएका फुटेजमा बाढीका कारण सडकहरू डुबानमा पर्दा सवारी साधन र स्थानीयहरूको यात्रा कठिन बनेको देखिन्थ्यो ।

करिब ९० लाख जनसङ्ख्या रहेको वानझाउ सहरमा बाढी र डुबानजन्उ जोखिमको चेतावनी जारी गरिएको छ भने सात हजार मानिसहरूलाई स्थानान्तरण गरेको सिसिटिभीले जनाएको छ ।

गेमीले मध्य जियाङ्सी र हेनानमासमेत भारी वर्षा निम्त्याउने सरकारी सञ्चार माध्यामले जनाएको छ ।

चीनको धेरै जनसङ्ख्या भएको प्रान्तमध्ये एक गुआङडोङले शुक्रबार आँधीको चेतावनीपछि केही यात्रुबाहक रेल सेवाहरू स्थगित गरेको सिसिटिभीले जनाएको छ ।

आधिकारिक चिनियाँ मौसम नेटवर्कलाई उद्धृत गर्दै सिसिटिभीले चक्रवात करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरहेको जनाएको छ । शुक्रबार दिउँसो जियाङ्सी पुग्दा आँधी ‘बिस्तारै कमजोर’ हुने जनाइएको छ ।

समाचार तयार पार्दासम्म चीनमा आँधीका कारण कसैको मृत्यु तथा घाइते भएको खबर भने आएको छैन ।

खराब मौसम, बाढी र डुबानको जोखिमको मौसम पूर्वानुमान निकायहरूको चेतावनीपछि बिहीबार राष्ट्रपति सी जिनपिङको अध्यक्षताको शीर्ष नेतृत्वको बैठकमा अधिकारीहरूले स्थानीय अधिकारीहरूलाई सतर्क र सक्रिय रहन आग्रह गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्