काठमाडौँ, ११ साउन । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ ।
सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले आज विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने प्रतिष्ठित तथा विज्ञहरुको क्षतिबाट कम्पनीले मात्रै नभई परिवार, समाज र राष्ट्रसमेतले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै यस दुःखद् घडीमा शोक सन्तप्त परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेको छ ।
पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैँ रहने एयरलाइन्सले विज्ञप्तिमार्फत् जनाएको छ । “सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पुर्याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले विमान दुर्घटनामा परी बाँच्न सफल क्याप्टेन मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार चालकदलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्युभएको थियो ।
सो दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्य बाँच्न सफल भएको छ । दुर्घटनाका घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा ल्याई सघन उपचार कक्षमा उपचार गरिएको थियो । अहिले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । रासस