Logo

चितवनमा फैलिँदै डेङ्गु, ५१ जनामा देखियो सङ्क्रमण



चितवन, साउन १२ । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए ।

भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ । उनले भने, ‘डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए ।

जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । विशेषगरी भदौ र असोजमा डेङ्गु रोग बढी देखिने गर्दछ ।

उनले भने, ‘अहिले साउनको सुरुआतदेखि नै डेङ्गुको सङ्क्रमण देखिन थालेको छ ।’ यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेङ्गु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखा पर्छन् । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उनले बतए । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो ।



प्रतिक्रिया दिनुहोस्