Logo

जहाँ हरेक घरमा नाङ्लो बुनिन्छ…



भोजपुर, साउन १२ । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुर्ख्यौली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो ।

हतुवागढी–६ लङ्खाका ७५, विथारा १६५, लुम्बुवा १३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् ।

हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउँछन् । दसैं, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उनको भनाइ छ ।

यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताए । एउटा नाङ्लो औसतमा एक सयदेखि १५० सम्ममा खरिद बिक्री हुने गरेको उनले बताए ।

“हाम्रो गाउँका अधिकांशले नाङ्लो बुन्दै आएका छन्”, व्यवसायी राईले भने, “हाम्रो आम्दानीको मुख्य स्रोत नाङ्लो हो । सबै मिलेर यहाँ उत्पादन भएको नाङ्लो संकलन गरेर बाहिरका बजारमा पठाउँछौँ । सरदरमा एक महिनामा १९ हजारदेखि २१ हजारसम्म नाङ्लो बजारमा पठाउने गरेका छौँ ।”

मासिक २१ लाख बराबरको नाङ्लो बिक्री हुने गरेको छ । गाउँमा नाङ्लो बिक्रीबाट वार्षिक दुई करोडदेखि दुई करोड ५० लाखको हाराहारीमा रकम भित्रिने गरेको उनको भनाइ छ । यहाँको एउटा परिवारले मासिक रुपमा न्यूनतम १५० देखि अधिकतम ३०० वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्