Logo

ओलीलक्षित प्रचण्डको टिप्पणी : नेतृत्वविशेषले घात गर्यो भन्दै कम्युनिष्ट एकताको महत्व घट्दैन, एकदिन सफलता हात पर्छ



काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले विभाजित भएका कम्युनिष्टहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । आज (शनिबार) काठमाडौंमा पुष्पलालको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित गर्दै उनले नेतृत्वविशेषले घात गर्यो भन्दै कम्युनिष्टहरुबीच एकताको प्रयास नछोड्ने बताए ।

उनले २०७४ को निर्वाचनमा एमाले र माओवादीबीच भएको चुनावी गठबन्धनमा दुई तिहाई बहुमतको नजिक पुगेको स्मरण गराए । उनले दुई दलबीच भएको पार्टी एकतालाई बचाउन नसकिएको सुनाए । तर, एमालेसँगको एकता एकपटक असफल भयो भन्दैमा त्यसलाई त्यत्तिकै छोड्न नहुने र निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए । उनले आफूले एमालेसँग फेरि एकपटक सहकार्य गरौं भनेर पहल गरेको तर पछिल्लो समय सरकार नै परिवर्तन भएको अवस्था सुनाए ।

उनले भने,‘एमालेभित्र ठूलो पँक्ति देशभक्तहरुको छ । कम्युनिष्ट आन्दोलनप्रति त्याग गरेकाहरुको पँक्ति छ । त्यो पँक्तिसँग हामी कसरी जोडिने भन्ने कुरामा चिन्तन र मनन गर्नुपर्छ । प्रगतिशिल, देशभक्त र वामपन्थी र कम्युनिष्ट शक्तिबीच एकता गर्नुपर्छ । तर, किन ती शक्तिले हामीलाई सफल हुन दिइरहेको छैन् ? जहिल्यै सेबोटेज गरिरहेको छ ? त्यसको बारेमा विचार र चिन्ता गर्न मनन गर्न भन्न चाहन्छु ।’

उनले दलाल पुँजीवादको समस्या यतिवेला नेपालको क्रान्तिकारी आन्दोलनभित्र प्रमुख समस्या भएको सुनाए । उनले भने,‘म सरकारबाट बाहिर आउँदै गर्दा मैले दलाल पुँजीपतिहरुसँग सेटिङ भत्काउन खोजेकै कारण आजको परीणाम हो । समयले विस्तारै सबै तथ्यलाई बाहिर ल्याउनेछ । के के षड्यन्त्र र चालबाजी भए ? भन्ने कुरा बाहिर आउँछ । हामीले लिने संकल्प भनेको इतिहासबाट शिक्षा लिने हो ।’

उनले कांग्रेस र एमाले दुई दलले गर्न खोजेको संविधान संशोधन भनेको जनताले प्राप्त गरेको अधिकार पनि खोस्न खोजेको सुनाए । उनले भने,‘उनीहरु थ्रेस होल्ड बढाएर साना दल सबैलाई अस्तित्वविहीन बनाउने षड्यन्त्र गर्दैछन् । तथाकथित दुई पार्टी सिस्टम, त्यसमै नेपाललाई लैजाने जबरजस्त कोशिस गरिएको छ । त्यसमा हाम्रो विरोध हो ।’ file photo



प्रतिक्रिया दिनुहोस्