काठमाडौं, साउन १३ । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भिडन्त पक्का गरेको थियो ।भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आज दिउँसो ३ः१५ बजे सुरु हुँदैछ।
भारत महिला एसिया कपको फाइनलमा नवौ पटक पुगेको हो। पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो। प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन्।
प्रतियोगितामा सहभागी भएको नेपाल भने समूह चरणबाटै बाहिरिएको छ। तीन खेल खेलको नेपालले यूएईविरुद्ध ६ विकेटको जित निकालेको थियो। समूह चरणकै भेटमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल भारतसँग ८२ रनले स्तब्ध भएको थियो।