काठमाडौं,१३ साउन । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार लगातार दुई पटक सर्किट ब्रेक लागेको छ ।
बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ । २० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।
२० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशत विन्दु अर्थात् ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २६९७ मा कायम भएको छ । दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ । त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ । र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ ।
मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने व्यवस्था लगायतका कुराले सेयर लगानीकर्तामा रौनक छाएको विज्ञहरूले औंलाएका छन् ।