काठमाडौं, १३ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले यही साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरलाईन्सको जहाज दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आज) आइतबार) प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै साहले यस्तो बताएका हुन् ।
उनले भने,‘यसको जिम्मा कसले लिने ? निरन्तर जहाज दुर्घटना भइराख्ने तर, यसको जिम्मा कसैले नलिने ? छानबिन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने ?, ती प्राधिकरण र युनिटकाहरु मात्रै जिम्मेवार हो कि त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हो ?’
उनले सरकार बास्तवमा जनउत्तरदायी हो भने जहाज दुर्घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताए । उनले सोधे,‘यसमा सरकार जवाफदेही हुन्छ कि हुँदैन ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु–यसको नैतिक जिम्मेवारी सरकारले लिँदैन भने कल्ले लिने हो ?।’ सो अवसरमा उनले जहाज दुर्घटनालगत्तै सरकारले उद्धार तथा राहतको लागि तदारुकता देखाएकोमा धन्यवाद ज्ञापन गरे ।
तर, १५ दिनअघि सिमतालमा भएको बस दुर्घटनाको घट्नाको विषयमा पीडित परिवारलाई राज्यले बेवास्ता गरेको उनको आरोप थियो । उनले अहिलेसम्म २५ जनाको मात्रै शव भेटिएको र बाँकी शवको पनि टुँगो नलागेकोमा राज्य त्यहाँ नदेखिएको गुनासो पोखे।
पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने सवालमा पनि राज्य चुकेको उनको आरोप छ । यस्तै, साहले बोलबम कवरियालाई पनि सरकारले हेला गरेको गुनासो पोखे । मेला तथा महोत्सवको नाममा सरकारले लाखौं खर्च गर्ने गरेको भएपनि भगवान शिवका भक्त बोलबम कवरियाहरुलाई भने उपेक्षा गरिएको उनको आरोप छ ।