काठमाडौं, साउन १४ । एसिसी महिला एसिया कप–२०२४ को उपाधि श्रीलंकाले जितेको छ । दम्बुलामा आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । श्रीलंकाको जितमा कप्तान चमारी अथापथ्थुले ६१ रन र हर्षिता समराविक्रमाले ६९ रनको शानदार अर्धशतकीय इनिङ्स खेले ।
उनीहरुले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । २००४ बाट सुरु भएको महिला एसिया कपमा श्रीलंका पहिलो पटक च्याम्पियन बनेको हो । यसअघि श्रीलंका पाँच पटक उपविजेता बनेको थियो । भारत भने केवल दोस्रो पटक एसिया कपको फाइनलमा पराजित भएको छ । यसअघि २०१८ मा बंगलादेशसँग पराजित भएको थियो। भारतले सात पटक एशिया कपको उपाधि जितेको छ ।