Logo

इतिहासका मूर्धन्य व्यक्तित्व : तुलसीराम वैद्य



काठमाडौँ, १४ साउन (रासस) । त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागको विभागीय प्रमुखदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकूलपति समेत रहिसकेका इतिहास विषयका प्राध्यापक डाक्टर तुलसीराम वैद्य एक बौद्धिक व्यक्तित्व हुन् । १९९६ फागुन १७ गते काठमाडौँको बौद्धिक परिवारमा जन्मिएका प्राडा तुलसीराम वैद्यलाई स्कूल जीवनदेखि नै इतिहास विषयको अध्ययनमा रुचि जागेको थियो ।

अत्यन्तै सरल, शालीन, मृदुभाषी, सुसंस्कृत सभ्य तथा दयालु स्वभावका प्राडा वैद्य इतिहासका विषयमा नै अध्ययन–अनुुसन्धान तथा प्रकाशन गर्ने कार्यमा निरन्तर लागिरहे । यस विषयको आवश्यकता र महत्व ठानेर उनले आफ्ना शोधार्थी विद्यार्थीलाई प्रेरणा दिई रहन्थेँ । वैद्यसर नेपाली इतिहास विधाका एक प्रतिष्ठित मूर्धन्य विद्वान थिए ।

इतिहासको क्षेत्रमा उनले पुु¥याएको योगदानले राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको इतिहास लेखन विधा अगाडि बढेको थियो । उनले गरेको अध्ययन अनुसन्धान अन्वेषण तथा उनीबाट प्रकाशित कृतिहरुलाई सबैले चर्चा गरेका छन् । कतिपय विद्वानले उनलाई एक सबल अनुकरणीय प्राध्यापकका रुपमा समेत चर्चा गरेका छन् ।

उनले भन्ने गर्थे, ‘आफ्नो जीवनको अमूल्य सम्पत्ति एवं आर्जन नै मेरा विद्यार्थी हुुन् ।’ त्रिविको प्राध्यापन सेवामा काम गर्ने विद्यार्थीले विद्यावारिधि नगरी हुन्न भन्ने वास्तविकता बोध गराई शोधार्थीलाई हौसला प्रेरणा दिएर कुशल पथप्रदर्शक बनी आफ्नै निर्देशनमा २२ जना शोधार्थीलाई विद्यावारिधि गराए ।

नेपालमा राष्ट्रिय इतिहास लेखन कार्य गर्नुपर्दछ भनी आवाज उठाइरहने वैद्यसरले आफ्नो जीवनकालमा नेपालकै अधिकांश इतिहाससम्बन्धी जर्नलहरु, पत्रपत्रिका, अनुसन्धानात्मक जर्नलहरुमा करिब ९० भन्दा बढी इतिहास विषयका साधारण अनुसन्धानात्मक लेखहरु प्रकाशित गरिसकेका छन् ।

उनले नेपालको इतिहास विषयमा अध्ययन गर्ने शोधार्थी, विद्यार्थी र नेपालको इतिहासबारे जानकारी राख्ने पाठकलाई इतिहास विषयका पुस्तकको अभाव भएको महसुस गरी अनुसन्धान गरी अङ्ग्रेजी तथा नेपाली भाषामा एक्लै एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरेका छन् ।

उनले लेखेका पुस्तकहरु प्रायःजसो अनुसन्धानात्मक रहेका छन् । ती पुस्तकहरुमा एडभान्स हिस्ट्री अफ नेपाल, पृथ्वीनारायण शाहः फाउन्डर अफ मोडर्न नेपाल, जयप्रकाश मल्ल, किङ् अफ कान्तिपुर, डा आर रेग्मीः एज अ हिस्टोरियन एन्ड एसिसमेन्ट जस्ता छन् । ती पुस्तकहरु इतिहासकार तथा पाठक, शोधार्थी तथा विद्यार्थीका लागि महत्वपूर्ण सामग्रीका रुपमा रहेका छन् ।

वैद्य सरले नेपालको इतिहासको अध्ययन गर्न चाहने पाठक, विद्यार्थी, शोधार्थीका लागि सहज होस् भनी नेपालको इतिहासका समग्र जानकारी दिने अवधारणाले स्थलगत अध्ययन र अनुसन्धान गरी नेपाली भाषामा करिब एक दर्जनभन्दा बढी पुस्तक संयुक्तरुपमा प्रकाशित गरेका छन् ।

तीमध्ये केही महत्वपूर्ण पुस्तकहरुमा भक्तपुर राजदबारको इतिहास, आधुनिक नेपालको इतिहासका केही पानाहरु, गोरखा राज्यको स्थापना, द्रव्य शाहको ऐतिहासिक कार्य, मध्यकालीन नेपालको प्रशासनिक इतिहास, आधुनिक नेपालको रजानीतिक इतिहास, नेपालको सैनिक इतिहास, नेपाल प्रहरीको इतिहास, गोरखाको ऐतिहासिक सामग्री, रणजीत मल्लकालीन कागजपत्र, नेपाल स्टडी अफ सोसियो इकोनोमिक एन्ड पोलिटिकल चेन्ज, नेपालको राजनीतिक इतिहासहरु हुन् ।

उनको यी पुस्तकबाट नेपालको मध्यकालदेखि आधुनिककालसम्मको इतिहास लेखनमा भएका कमीकमजोरी हटाउने काम समेत गरेका छन् । यसले स्वदेशी तथा विदेशी लेखकहरुलाई समेत त्यसबेलाका बारेमा जानकारी गराउने महत्वपूर्ण पुस्तकहरु पाठकमाझ पस्केर नेपालको इतिहास लेखनमा नयाँ आयाम थपेका छन् ।

उनले अध्ययन गर्ने समयमा नेपालमा एमए तहको पढाइ नहुने भएकाले नेपालका क्याम्पसबाट बीएको अध्ययनपश्चात् एमए इतिहास पढ्न भारतको अलहावाद गए । अलाहवाद विश्वविद्यालयबाट एमएको अध्ययन पूरा गरी नेपाल फर्किए । नेपालमा भर्खरैमात्र त्रिविको स्थापना भएको थियो । उनी प्राज्ञिक पेसामा संलग्न भई २०१७ सालदेखि दरबार कलेजबाट इतिहास विषयको अध्यापन कार्यमा संलग्न भए । त्यसपछि क्रमशः इतिहास केन्द्रीय विभागमा प्राध्यापन गर्ने काम आरम्भ गरे ।

समयको अन्तरालसँगै इतिहास विषयमा अध्ययन/अनुसन्धान गर्नुपर्ने आवश्यकता ठानी आफ्नो ज्ञानको क्षितिजलाई बढाउन सो विषयमा शोध गर्नुपर्ने आवश्यकता बुझी सोही विषयमा अनुसन्धान गरी भारतको अलाहवाद विश्वविद्यालयबाट सन् १९७४ मा विद्यावारिधिको उपाधि हासिल गरे । विद्यावारिधिपश्चात् इतिहासका विविध विषयमा अनुसन्धान गर्ने, अनुसन्धानात्मक लेखहरु, पुस्तकहरु लेख्ने र प्रकाशन गर्न, प्राध्यापन गर्ने, इतिहास लेखनमा भएका कमजोरीलाई हटाउने कार्यमा लागिरहे ।

इतिहास सत्यतथ्य घटना र विवरणको सङ्कलन र विश्लेषण हो । विगत तथा वर्तमानमा घटेका घटनाहरुको सम्बन्ध मानवका विगतका घटना र वर्तमानका क्रियाकलाप तथा राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ । यसर्थ इतिहास विषयको अध्ययनलाई विज्ञानको अध्ययन समेत भनिन्छ । इतिहासकारको लक्ष्य नै वैज्ञानिक दृष्टिकोणबाट अध्ययन तथा अनुसन्धान गरी सत्यतथ्य इतिहास जनसमक्ष ल्याउनु हो । वैद्यसरले यही कार्यलाई निरन्तरता दिए ।

प्राडा वैद्य बहुुमुखी विद्याका व्यक्तित्व थिए । उनले इतिहास विषयको अनुसन्धान एवं प्रकाशन कार्यमात्र नभएर त्रिभुवन विश्वविद्यालयका विभिन्न प्राज्ञिक एवं प्रशासनिक विद्यामा समेत आफूलाई समर्पण गरे । खासगरी उनले त्रिवि राष्ट्रिय विकास सेवाको निर्देशक, इतिहास केन्द्रीय विभागको चारपटक विभागीय प्रमुख, विश्वविद्यालय क्याम्पसको सदस्यसचिव (क्याम्पस प्रमुख), त्रिवि मानविकी सङ्कायको डिन, त्रिविको परीक्षा नियन्त्रक तथा लम्बिनी बौद्ध विश्वविद्यालयको उपकूलपति जस्ता प्राज्ञिक पदमा बसेर आफ्नो कार्यकालमा कुशलतापूर्वक जिम्मेवारी निभाएका थिए । यीबाहेक अन्य विद्यालय तथा सामाजिक सङ्घसंस्थामा आबद्ध भई ती संस्थाहरुलाई संस्थागत रुपमा सबल बनाउन निरन्तर लागिरहे ।

उनी इतिहास विषयको विषय समिति, प्राज्ञिक परिषद् तथा विश्वविद्यालयका विभिन्न प्राज्ञिक निकायहरुमा अनुसन्धानविज्ञ भई निरन्तर कार्य गरिहे भने इतिहास विषयमा अध्ययन/अनुसन्धान गरी इतिहासका प्राध्यापकको हितमा कार्य गर्दै आएको इतिहास सङ्घको संस्थापक अध्यक्ष भई निरन्तर रुपमा सङ्घलाई अगाडि बढाउन लागे । प्राडा वैद्य इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्रिविअन्तर्गतका सबैभन्दा धेरै शोधार्थीलाई विद्यावारीधि गराउन सफल वैद्य सरले एसियाका इतिहासकारहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा समेत नेपालको प्रतिनिधित्व गरेका थिए ।

उनको सबैभन्दा महत्वपूर्ण गुण भनेकै सधैँ सिर्जनशील, धैर्यवान्, जिज्ञासु र खोज कार्यमा क्रियाशील रहिराख्नु नै हो । अझ एक सबल प्राध्यापकका रुपमा समेत उनी परिचित भएका थिए । उनी सधैँ नै आफ्ना विद्यार्थीलाई एमएको अध्ययनपश्चात् अनुसन्धानमा लागेर विद्यावारिधि गर्न अभिप्रेरित गरिरहन्थेँ । चाहे आफ्ना समकालीन साथी हुन् वा विद्यार्थी, सबैलाई विद्यावारिधि गर्नुपर्दछ, पुस्तक प्रकाशन गर्नुपर्छ भनिरहन्थेँ । उनले यस आलेखका लेखकलाई समेत एमएको अध्ययनपछि त्यसै विभागमा इतिहास विषयको प्राध्यापन गर्ने कार्यमा संलग्न गराए । उनको प्रेरणाले आज यस आलेखका लेखक स्वयं इतिहासको प्राध्यापकको रुपमा स्थापित भएको छु । उनकै प्रेरणा पाई अन्य मेरा गुरुवर्गले पनि अनुसन्धान गर्ने प्रेरणा दिइरहेका थिए ।

प्राध्यापक वैद्य गुरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट आयोजित सेमिनार, गोष्ठीहरुमा कार्यपत्र प्रस्तुत गर्ने र ती गोष्ठीमा नेपालको इतिहास लेखन विधामा नयाँ परिवर्तन ल्याउने कार्यमा लागे । भारतका केही विश्वविद्यालयका शोधार्थीहरुको विद्यावारिधिको शोधपत्रको मूल्याङ्कन, भारतका केही विश्वविद्यालयमा नेपालको इतिहास लेखन प्राध्यापन अनुसन्धान गर्ने तौरतरिकाको जानकारी गराउनु र नयाँ विषयको खोज र अनुसन्धानलाई नेपालमा समेत ल्याउन सफल बने ।

त्रिविको थुप्रै इतिहास विषयका शोधार्थीको शोधपत्रको मूल्याङ्कनको जिम्मेवारी लिई महत्वपूर्ण बौद्धिक सुझाव दिइरहे । उनको स्वभाव अत्यन्तै सरल स्वभावले आफ्ना शोधार्थी तथा समकालीन साथीहरुलाई सधैँ नै विनयशीलता बनी आफ्नो घरमा होस् या कार्यालयमा भेट्न आउँदा इतिहास विषयको जिज्ञासा राख्ने साथीभाइ र शोधार्थीलाई झर्को नमानी सधैँ ज्ञान बाँडिरहे ।

प्राध्यापक डा वैद्य आफ्नो जीवनकालमा नै एक सफल प्राध्यापक थिए । उनले नेपाली इतिहासका विज्ञ भएकाले नेपाली इतिहास लेखनको राजनीतिक, प्रशासनिक, सैनिक, आर्थिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा दखल राखी तथ्यका आधारमा सही मूल्याङ्कन गरी इतिहास तयार पारे । उनीबाट लेखिएका पुस्तक र लेखहरु भविष्यका पुस्ताका लागि सम्झनलायक सामग्रीका रुपमा रहेका छन् । उनले आफ्ना शिष्यहरुको आत्मबल बढाउन तथा शैक्षिक क्षेत्रलाई उन्नतशील बनाई आफ्नो पहिचान गराउन शोधकार्यमा अग्रसर हुन र पुस्तक लेखन तथा शैक्षिक क्षेत्रमा उन्नति गर्न सधैँ प्रोत्साहित गरिराखे ।

इतिहास तयार पार्दा नयाँ कुरा दिन सक्नुपर्दछ भन्ने उनको तर्क थियो । जहिले पनि इतिहास लेख्दा सत्यतथ्य घटनाका आधारमा तयार पार्नुपर्दछ भन्ने आफ्ना चेलाहरुलाई सम्झाउँथे। सच्चा अनुसन्धानकर्ताले सधैँ साँचो लेख्न र बोल्न डराउनु हुँदैन भनेर प्रोत्साहन दिइरहने वैद्य गुरुले कसैको लोभलालचमा परेर प्रमाणबिनाको इतिहास तयार पा¥यो भने राष्ट्रको नै इतिहास बिग्रिन्छ भन्ने गर्थे र उनका लेखनमा यो कुरा झल्किने गरेकाले साँच्चिकै लेखनमा निडरता र तथ्यमा आधारित कुरा मात्र लेख्ने बोल्ने उनको बानी नै थियो ।

इतिहास विषयमा अनुसन्धान गर्दागर्दै केही समय रोगले च्याप्यो र बिरामी परे । बिरामीकै अवस्थामा उनको दुखान्त निधन तुलसी रोप्ने दिन नै अर्थात् २०८१ साल साउन २ गते काठमाडौँमा भयो । उनको निधनबाट त्रिवि इतिहास केन्द्रीय विभाग र अन्य सामाजिक प्राज्ञिक सङ्घसंस्था तथा राष्ट्रले नै एक होनाहार सशक्त इतिहासकार तथा इतिहासको विद्यार्थीका लागि आफ्ना अभिभावक गुमाएको छ ।

(लेखक इतिहास केन्द्रीय विभाग, त्रिवि कीर्तिपुरका विभागीय प्रमुख हुन्)



प्रतिक्रिया दिनुहोस्