Logo

बक्यौता नतिरी भागेको थाइ एयर एसियालाई पुनः नेपालमा उडान अनुमती



काठमाडौं, साउन १८ । बैंककमा मुख्यालय रहेको थाइ एयर एसियाले भैरहवा र काठमाडौंमा उडान अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियालाई भैरहवा उडान गर्ने शर्तमा काठमाडौंमा उडान अनुमति दिएको बताएको छ। प्राधिकरणका अनुसार थाइ एयर एसियाले सातामा ७ उडानको अनुमति पाएको हो ।

यसमा एयररलाइन्सले हप्तामा ४ उडान भैरहवामा गर्नेछ भने ३ उडान काठमाडौंमा गर्ने भएको छ। यो कम्पनीको मूल कम्पनी एयर एसियाले मलेसियाबाट उडान गर्दा काठमाडौं विमानस्थलको बक्यौता नतिरी बाहिरिएको थियो।

२४ करोड बक्यौता रहेकाले थाइ एयर एसियामार्फत नेपाल फर्किन चाहेपछि एयर एसियाले पछिल्लो छ महिनादेखि किस्ता सुविधाबाट बक्यौता तिर्दै आएको छ । २४ महिनामा २५ करोड रुपैयाँ तिर्ने र त्यसका लागि बैंक ग्यारेन्टी पेश गरेपछि प्राधिकरणले किस्ता सुविधा दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्