काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) भित्र नेतृत्व परिवर्तनको बहस सुरू भएको छ । उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएर नेतृत्व परिवर्तनको मुद्दालाई जोडदार रुपमा उठान गरेका छन् । यद्धपी उनको राजीनामा अहिलेसम्म अध्यक्ष पुष्पकमल दाहलाले स्वीकृत गरेका छैनन् ।
गजुरेलले नेतृत्वमाथि छेडेको यो विद्रोहमा उपमहासचिव जनार्दन शर्माको पनि साथ रहेको बुझिएको छ । पछिल्लो समय टिआरसी विद्येयक टुँगो लगाउनेगरि कांग्रेस र एमालेका नेताहरु रमेश लेखक र महेश बर्तौला सम्मिलित कार्यदलमा रहेका काम गरेका शर्माले टिआरसीमा सहमति जुटाएका छन् ।
अहिले माओवादी पँक्तिमा शर्माले काम फत्ते गरेको भन्दै प्रशंसासमेत भैरहेको छ । स्वयम शर्माले पनि नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा उदाहरण हुने विश्वास दिलाउँदै टिआरसीमा सहमति जुटाउनको लागि अवसर प्रदान गरेको भन्दै अध्यक्ष प्रचण्डलाई धन्यवाद भनेका छन् । माओवादीले १८ वर्षपछि सरकारबाट हात धुनुपरेको छ । यतिवेला माओवादी कमजोर प्रमुख प्रतिपक्षको जिम्मेवारीमा पुगेको छ । दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरेपछि माओवादी प्रतिपक्षमा पुगेको हो । सरकारबाट बाहिरिएलगत्तै माओवादीको पदाधिकारी बैठक बसेको थियो ।
लगातार ५ दिन चलेको पदाधिकारी बैठकमा सरकारबाट बाहिरिनुरेको कारण, अबको भूमिका र नेतृत्व परिवर्तनको विषय जोडदार रुपमा उठेको कुरा बाहिर आएको छ । पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने कुरामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आवाज उठएको बताईएको छ । प्रचण्डपछिको नेतृत्वमा दाबेदारी गरिरहेका नेताहरु जनार्दन शर्मा र वर्षमान पुनबीच नेतृत्व परिवर्तनको विषयमा यसपटक पनि मतभेद देखिएको छ ।
शर्माले अध्यक्ष प्रचण्डसहित आफूहरु पहिलो पुस्ताका सबै नेताहरु सक्रिय भूमिकाबाट विदा भएर प्रमुख संरक्षक, संरक्षक र सल्लाहकारको भूमिकामा रहेर तेस्रो पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने पक्षमा पुगेका छन् । उता, वर्षमानले भने अझै पाँच वर्ष अर्थात २०८४ को निर्वाचन प्रचण्डकै नेतृत्वमा लड्नुपर्ने मत राखेका छन् । वर्षमानले इमेज टिभीबाट प्रशारण भएको एक कार्यक्रममा पत्रकार जगदिश खरेलसँग नेतृत्वमा तत्काल प्रचण्डको विकल्प नभएको दाबी गरेका छन् ।
उनले अझै एक कार्यकाल प्रचण्डकै नेतृत्व मुलुकको लागि पनि आवश्यकत्ता भएको र पार्टी जीवनको लागि पनि आवश्यक भएको दाबी पेश गरेका छन् । उता, जनार्दनले पत्रकार ऋषि धमलासँगको आज (शुक्रबार) विहान प्रसारण भएको नेपाली बहस कार्यक्रममा प्रचण्डसहित आफूहरुले नेतृत्वबाट बिदा लिनुपर्ने मत राखेका छन् ।
उनले प्रचण्डले अब नेतृत्व छोड्नुपर्ने स्पष्ट पारेका छन् । नत्र माओवादी पार्टी रुपान्तरण नहुने उनको दाबी छ । नेतृत्व परिवर्तनको बहस छेडिएको माओवादीभित्र जनार्दन वा वर्षमान कुन विचारधाराले बाजी मार्ने हो भन्ने कुरा हेर्न त्यो पार्टीको केन्द्रीय कमिटीको बैठकसम्म कुनुपर्ने हुन्छ । माओवादीले यही साउन २५ गते स्थायी कमिटी बैठक बोलाएको छ ।
Related Videos: