Logo

नेपालमै पहिलो खुलेको ‘हिल्टन काठमाडौं’ को सेवा शुभारम्भ, यस्ता छन् विशेषता



काठमाडौं, २० साउन । काठमाडौंको मुट नक्शालमा खुलेको चेन होटेल हिल्टनले आफ्नो सेवाको सुरुवात गरेको छ । नवनिर्मित होटेलको हालै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थितिमा औपचारिक शुभारम्भ गरिएको हो । यो होटेलमा नेपालकै प्रतिष्ठित र प्रमुख व्यापारिक घराना शंकर ग्रुपको लगानी छ । उक्त होटेल भारतीय उपमहाद्वीपमा दरिलो विकास र विस्तारमा उल्लेखनीय कोसेढुंगा भएको बताइएको छ ।

एक सय ७२ वटा कोठा रहेको होटेलबाट पाहुनाले मनमोहक दृश्य अवलोकन गर्नुका साथै व्यक्तिगत रूपमा समेत विशिष्ट अनुभव हासिल गर्नसक्ने व्यवस्थापन पक्षको दाबी छ । काठमाडौंको निर्माण शैलीमा डिजाइन गरिएको होटेलमा प्रेसिडेन्सियल सुइटसम्मका कोठाहरू रहेका छन् । साथै, कर्मचारीको पोसाक, प्रतीक्षालय र अन्य अतिथि कक्ष परम्परागत नेपाली ढाकाको कपडाले सजाइएका छन् ।

एसिया प्यासिफिक ब्रान्ड म्यानेजमेन्ट एवं हिल्टनका वरिष्ठ उपाध्यक्ष अलेक्जेन्डर ज्यारिचले भने,‘अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा हिल्टनको बर्चस्व सयौँ वर्षदेखि रहँदै आएको छ । यही क्रममा नेपालमा खुलेकोे पहिलो होटेलले विशिष्ट पाहुनाका लागि एक महत्वपूर्ण स्थानका रूपमा लिइएको छ । होटेल परियोजनामा ८ अर्ब ३५ करोड लगानी भएको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्