तनहुँ, २० साउन । दुवै मिर्गौला फेल भएका तनहुँका एक युवकको उपचारका लागि सामाजिक सञ्जालबाट दुई लाख आर्थिक सहयोग जुटेको छ ।
ऋषिङ गाउँपालिका–५ सपाङ्दीका २६ वर्षीय पूर्णलाल नेपालीको उपचारका लागि तीन दिनमा एक लाख ९० हजार सहयोग प्राप्त भएको हो । आर्थिक अवस्था नाजुक रहेका नेपालीको उपचारका लागि देशविदेशमा रहेका ऋषिङबासी र अन्य व्यक्तिबाट उक्त रकम प्राप्त भएको हो । सामाजिक सञ्जालमा सहयोग रकम सङ्कलन अभियान ऋषिङ गाउँपालिकाका प्रवक्ता एवं अभियन्ता बिजय दरैले सुरु गरेका थिए ।
आफ्नो जन्मदिनमा खर्च गरिने रकम प्रदान गरी दरैले अभियान थालेको बताए । उनले भने, “घरको अवस्था देख्दा मनमा दया जागेर आयो, सहयोग जुटाउन सामाजिक सञ्जाल प्रयोग गरी अभियान थालेको हुँ ।”
उनका अनुसार विभिन्न स्थानबाट सहयोग आउने क्रम जारी छ । सहयोग रकम जुट्न थालेपछि उपचारसमेतमा सहज भएको छ । उनको हाल काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।
जन्मदिनमा केक काटेर गरिने खर्च कटौती गरी सहयोग स्वरुप सात हजार पाँच सय सहयोग गरेर दरैले सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । उनको अभियानमा हालसम्म ६० जनाले सहयोग गरिसकेका छन् ।
मिर्गौला पीडित नेपालीले भने, “मेरो उपचारका लागि विजय सर अहोरात्र खटेर आर्थिक सहयोग जुटाइरहनुभएको छ ।” रासस