Logo

हरिबोललाई फकाउँदै प्रचण्ड



काठमाडौं, २२ साउन । पार्टी पदाधिकारी सबैले राजीनामा दिनुपर्छ भनेर दबाब सिर्जना गर्ने नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेल र अध्यक्ष पुष्पकमल दाहालबीच उतारचढावपूर्ण सम्बन्ध छ । खासगरी नेकपाकालिन विवादमा गजुरेल अध्यक्ष दाहालसँग भन्दापनि तत्कालिन प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएको चर्चा थियो ।

त्यसयता गजुरेल र दाहालबीच उतारचढावपूर्व सम्बन्ध रहँदै आएको छ । ०७९ को आम निर्वाचनमा सिन्धुलीबाट गजुरेल चुनावी प्रतिष्पर्धामा उत्रिन चाहन्थे । तर, अध्यक्ष दाहालले उनलाई रोकेर राजन दाहाललाई टिकट दिए । त्यसपछि गजुरेलको प्रचण्डसँग पानी बाराबारको सम्बन्ध थियो । दाहालले गजुरेलसँग सम्बन्ध सुधार गर्दै आएका थिए ।

प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सुरु गर्दा दाहालले गजुरेललाई नै आफ्नो प्रमुख राजनीतिक सल्लाहकार राखेका थिए । यसपछि उनीहरुबीच सम्बन्ध सुधार भएको चर्चा थियो । तर, केही समय (१०) महिना पछि नै गजुरेलले सो जिम्मेवारीबाट आफूलाई अलग बनाए । अहिले प्रचण्ड सरकारको नेतृत्वबाट बाहिरिएपछि गजुरेलले फेरि अध्यक्ष दाहालसँग विद्रोह गरेका छन् । उनले राजीनामा दिएर पार्टीलाई नयाँ ढंगले लैजाने हो भने सबै पदाधिकारीले राजीनामा दिनुपर्ने शर्त राखेका छन् ।

तर, उनको राजीनामा अहिलेसम्म अध्यक्ष दाहालले स्विकृत गरेका छैनन् । बरु, गजुरेलले भनेझैं संगठन विस्तारको लागि अब माओवादी पूर्वकेन्द्रित हुनुपर्ने प्रस्तावलाई स्विकार प्रचण्ड कोशी प्रदेशको कार्यक्रममा सरिक भएका छन् । गजुरेलले पार्टी बलियो बनाउने हो भने पूर्वकेन्द्रित हुनुपर्ने प्रस्ताव राख्दै आएका छन् ।

अहिले गजुरेल कोशी प्रदेशको ईन्चार्ज हुन् । माओवादी केन्द्रको यही साउन २५ गते स्थायी कमिटी बैठक छ । सो बैठकले नेताहरुको जिम्मेवारी तोकिने बताईएको छ । माओवादीभित्र यतिवेला नेतृत्व परिवर्तनको बहसपनि छेडिएको छ । धेरैजसो नेताहरु नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस्