Logo

काभा वुमन्स नेसन्स लिग : फाइनलमा आज भारतसँग भिड्दै नेपाल



काठमाडौैं, साउन २३ । नेपाल काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलबार भएको उक्त खेलामा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो । यसअघि लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो । नेपालले आज फाइनलमा भारतसँग खेल्ने भएको छ । शनिबार नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको थियो ।

मङ्गलबार भएको इरानसँगको खेलमा नेपालले सोझो सेटमा खेल जिते पनि खेल प्रतिस्पर्धात्मक थियो । नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गरेकी छन्। कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पु¥याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गरिन्।

नेपालका प्रशिक्षक जगदीश भट्टले खेलाडीको क्षमता र आत्मविश्वासले इरानसँग सोझो सेटमा जित्न सफल भएको बताए । भारतले मङ्गलबारै श्रीलङ्कालाई २५–१५, २५–१६, २५–२३ सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो ।



प्रतिक्रिया दिनुहोस्