Logo

बङ्गलादेशको कामचलाउ सरकारको प्रमुखमा युनुस नियुक्त



काठमाडौं, साउन २३ । मुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारका प्रमुखमा नियुक्त भएका छन्। राष्ट्रपति मोहम्मद शहाबुद्दीनको अध्यक्षतमा बसेको बैठकले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको हो। प्रदर्शनकारी विद्यार्थीहरूले युनुसलाई अन्तरिम सरकारका प्रमुखका लागि प्रस्ताव गरेका थिए। नोबेल पुरस्कार विजेता युनुसले अबको ३ महिनाभित्र निर्वाचन गराउने छन्।

युनुसले लामो समयदेखि शासन गरेकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार भएका हुन् । प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुश्मनी र लाखौँ बङ्गलादेशीको व्यापक सम्मान आर्जन गरेका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ । विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उनले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गरेका छन् ।

छयत्तर वर्षीया हसिना सन् २००९ देखि सत्तामा रहदै आएकी थिइन् । उनीमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उजको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए ।

अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमबार एक हेलिकप्टरमा भागेर भारत पुगेकी छन् ।



प्रतिक्रिया दिनुहोस्