Logo

टीआरसीसम्बन्धी कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझायो प्रतिवेदन



काठमाडौं, साउन २३। प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ । आज बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त प्रतिवेदन बुझाएको हो ।

यद्यपी, कार्यदलले गत बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरुबिच सहमति जुटाइसकेको छ । उक्त सहमतिको प्रतिवेदन आज प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाइएको हो । गत बिहीबार तीन दलका तीन शीर्ष नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबिच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको हो ।

साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको हो ।यसलाई चालु संसदबाटै विधेयक पारित गरेर अघि बढाइने छ । सङ्क्रमणकालीन न्यायका मुद्दाहरु सबै पीडितले न्याय पाउने र पीडकलाई कानुनको दायरामा ल्याउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्