काठमाडौं, २४ साउन । सरकारले विभिन्न १९ देशमा राजदूत सिफारिश गरेको छ । सरकारको उक्त निर्णय विवादमा परेको छ । केही देशमा सिफारिश गरिएका राजदूतहरुको नामको कारण प्रधानमन्त्री केपी शर्मा ओलीकै आलोचना सुरु भएको छ । विवादित छवि भएकाहरुलाई राजदूतमा सिफारिश गरिएकोले देशको शीर निहुरिने काम भएको भनेर एमाले पार्टी पँक्तिभित्रै आलोचना सुरु भएको छ ।
मलेसियाका लागि राजदूतमा सिफारिश गरिएका डा. नेत्र तिमिल्सिनाको छवि विवादास्पद छ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का तिमिल्सिना मलेसियाको राजदूतमा सिफारिस भएको खबर सार्वजनिक हुनेबित्तिकै सरकारको आलोचना सुरु भएको छ ।
नेपाल रेडक्रस सोसाईटीलाई विवादको भूमरीमा पार्न सक्रिय भूमिका खेलेका तिमिल्सिना गैरसरकारी संस्थ महासंघ नेपालका पूर्वअध्यक्ष समेत हुन् । एनजिओको नाईकेलाई देशको राजदूतजस्तो गरिमामय पदले सुशोभित गरिनुले ओली सरकारको गम्भीर गल्तीको सुरुवात देखिएको छ ।