Logo

क्यानका महानिर्देशकलाई पदमुक्त गर्न परार्मशमा जुटे पर्यटनमन्त्री पाण्डे



काठमाडौं, साउन २५ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मशमा जुटेका छन् ।

एयर डाईनेष्टीको हवाई जहाज दुर्घटनामा विषयमा बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

मन्त्री पाण्डेले मातहतका निकायलाई कारबाही गर्ने प्रश्नमा सरकार गम्भिरतापूर्वक लागि परेको बताउदै आफूले गरेको निर्णय फेरि अदालतबाट बदर नहोस् भन्नका लागि सो निर्णय लिनुअघि आफूले कानूनी परामर्श अघि बढाएको पनि प्रष्ट पारेका छन्।

समितिको बैठकमा सांसदहरुले महानिर्देशक अधिकारलाई पदमुक्त गरेर मात्रै छानविन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएपछि मन्त्री पाण्डेले नैतिकता लादने विषय नभएको हुनाले त्यसमा जिम्मेवार व्यक्ति आफैँ सचेत हुनुपर्ने बताएका थिए । मन्त्री पाण्डेले समितिको बैठक लगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग समेत छलफल गरेका छन् ।

छलफलका क्रममा कतिपय विमान कम्पनीहरुले नागरिक उड्डयनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले तोके अनुसारको सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) लागू नगरेको तथा विमान चालक तथा प्राविधिक जनशक्ति लागि आवश्यक सुरक्षासम्बन्धी तालिम आदिमा न्यून लगानी गरेकोलगायतको विषयमा मन्त्री पाण्डेको ध्यानाकर्षण गराएको मन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा समेत मन्त्री पाण्डेले अधिकारीलाई पदमुक्त गर्ने विषयमा पूर्व महानिर्देशकहरुको सुझाव माग गरेका छन् । महानिर्देशक अधिकारी ११ औं तहका कर्मचारी हुन् । आफूभन्दा बरिष्ठ ६ जनालाई उछिन्दै उनी २०७८ माघ १७ गते नेपाल प्राधिकरणको महानिर्देशक भएका थिए ।

सरकारले महानिर्देशकबाट हटाएमा वा २०८२ माघ १६ गते ४ वर्षे कार्यकाल पूरा भएमा अधिकारी आफ्नै पद ११ औं तहमा फिर्ता हुनेछन् । अधिकारी महानिर्देशक बन्दा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले थिए भने प्रधानमन्त्री शेर बहादुर देउवा थिए ।

आफैं प्रधानमन्त्री हुँदा नियुक्त भएका अधिकारीलाई पदबाट हटाउनु पर्ने विषयमा नेपाली कांग्रेसका सभापति समेत रहेका शेर बहादुर देउवासहित १६ जना कांग्रेस सांसदहरुले गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । महानिर्देशक अधिकारी जिम्मेवारीमा आएपछि नेपालमा साना ठूला गरेर आठ वटा हवाई दुर्घटना भएको भन्दै सांसदहरु प्राधिकरण नेतृत्वसँग क्रुद्द छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको दोस्रो दिन गत साउन १० गते संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्धन तथा पर्यटन समितिको बैठकमा समेत महानिर्देशक प्रदीप अधिकारीलाई सांसदहरुले र्‍याखर्‍याख्ती पारेका थिए ।

सिभिल इन्जिनियर अधिकारीको उडान सुरक्षा भन्दा पूर्वाधार विकासको नाममा ठेक्कापट्टामा बढी लगाव रहेको आरोप लाग्दै आएको छ । एक सय भन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको उनको कार्यकालमा भएका दुर्घटनाबारे अधिकारी जिम्मेवारी लिनुको साटो मुखसम्म खोल्न चाहदैनन् ।



प्रतिक्रिया दिनुहोस्