काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता नैनसिंह महरले एमाले महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेका छन् । हिजो (बिहीबार) एमाले मुख्यालय पुगेका महरले समसामयिक राजनीतिक विषयमा महासचिव पोखरेलसँग कुराकानी गरेको जनाएका छन् ।
पछिल्लो समय कांग्रेस र एमाले नेतृत्वमा सरकार गठन भएपछि दुई दलका नेताहरुबीच भेटवार्ता बाक्लो हुन थालेको छ । कांग्रेसभित्र नेता महर वैचारिक बहस चलाउने नेताहरुमध्येमा पर्छन् । उता, एमालेमा महासचिव पोखरेलपनि विचारको नेतृत्व गर्ने नेताको छवि बनाएका नेता हुन् ।
पोखरेलले नेपालमा कांग्रेस र एमालेको दुई दलीय ध्रुवीकरणको आवश्यकत्ता औंल्याएका छन् । उनले साना दलले सौदाबाजी गरेकोले मुलुक सधैं राजनीतिक अस्थिरताको शिकार बनेको टिप्पणी गर्ने गरेका छन् ।