काठमाडौं, साउन २६ । झण्डै ३४ वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरु निर्माणले गति लिएका छन् ।
मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ । जसका लागि बजेट विनियोजन भइसकेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार चालु वर्षमा मन्दिर जीर्णोद्धार गर्नका लागि रु ३७ लाख बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा २७ लाख रुपैयाँ सङ्घीय सरकार र १० लाख गण्डकी प्रदेश सरकारबाट मन्दिर जीर्णोद्धार गर्नका लागि बजेट विनियोजन भएको छ । असोजदेखि मन्दिर जीर्णोद्धारको काम थालिने ढकालको भनाइ छ । मन्दिर जीर्णोद्धारमा दाताको सहयोग र मन्दिर व्यवस्थापन समितिको कोषलाई परिचालन गरिनेछ ।
विसं २०४७ मा ५० हजार रुपैयाँ खर्चेर मर्मत गरिएको मन्दिर त्यसयता जीर्णोद्धार गर्न सकिएको छैन । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमा पछिल्लो समय बढेपछि मन्दिरलाई जीर्णोद्धार गरेर चिटिक्क बनाउन थालिएको हो ।
तीन सय वर्षभन्दा पुरानो मन्दिर जीर्णोद्धारमा हालसम्म कसैको ध्यान नपुगको बताउँदै गुठीका अध्यक्ष ढकालले यसैवर्षबाट मन्दिरलाई जीर्णोद्धार गरिने बताए ।
विसं २०४७ मा ५० हजार रुपैयाँ लागतमा मर्मतसम्भार गरिएको बलेवा कालभैरव मन्दिरकोस्वरुप अझै उस्तै छ । पछिल्लो समय मन्दिरका नाममा लाखौँ बजेट खर्च भइरहे पनि मुख्य मन्दिर भने जीर्ण अवस्थामै रहँदा पूजा गर्न समस्या भएको र मन्दिर चर्किंदै गएको छ ।
ढुङ्गा माटोको मन्दिरलाई पुनःनिर्माणगरी ३४ वर्षअघि केही ठूलो बनाइएको थियो । अहिले मन्दिरको रेलिङको केही भाग चर्किएकोसमेत छ । मन्दिरसमेत साँघुरो र पूजा गर्न समस्या भएको हुन थालेको छ । मन्दिरको क्षेत्रफल बढाउन ५० लाख लागतमा बागलुङ नगरपालिकाले पक्की पर्खाल बनाएको, तारबार गर्न सहयोग गरिरहेको छ भने गण्डकी प्रदेश सरकारले मन्दिर वरपरको क्षेत्रमा लगानी गरिरहेको छ । तर मुख्य मन्दिर जीर्णोद्वार गर्नका लागि हालसम्म बजेटको व्यवस्थापन नभएको बताउदै अध्यक्ष ढकालले यस वर्ष मन्दिरलाई पुनःनिर्माण गर्न सुरु गरिने बताए ।
विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको मन्दिरका पुजारी पदमबहादुर शाहीले बताए ।
मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गइरहेको छ । मन्दिरमा प्रवेशद्वार, चौतारी, सचिवालय भवन र व्यावसायिक सटर निर्माण सम्पन्न भइसकेका छन् । रासस