काठमाडौं, साउन २७। म्यानचेस्टर सिटीले प्रिमियर लिग च्याम्पियन कम्युनिटी शिल्डको उपाधि जितेको छ । युनाइटेड डर्बीमा शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजीत गर्दै सिटीले उपाधि जितेको हो ।
निर्धारित समय १–१ गोलको बराबरीमा समाप्त भएपछि नजिताको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । जसमा सिटी भाग्यमानी सावित भयो । सडन डेथसम्म पुगेको खेलको नतिजा सिटीले ७–६ ले जितेको हो ।
पेनाल्टीमा सिटीका केभिन डी ब्रुयना, एर्लिङ हाल्यान्ड, साभियो, एन्डरसन मोराइस, म्यथ्युस नुनेज, रुबेन डियाज र म्यानुअल अकान्जीले गोल गरे । सिटीबाट पहिलो प्रहारका लागि आएका बर्नार्डो सिल्भाको प्रहार भने गोल हुन सकेको थिएन ।
युनाइटेडका ब्रुनो फर्नान्डेज, डियागो ड्यालोट, एलेजान्डर गार्नाचो, कासिमिरो, स्कट म्याकटोमिने र लिसान्ड्रो मार्टिनेजले पेनाल्टीमा गोल गरे । युनाइटेडका जाडोन सान्चो र जोनी एभान्सको प्रहारले जाली चुम्न सकेको थिएन ।