Logo

मोदीलाई नेपाल भ्रमणको निम्तो



काठमाडौं, २८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गर्दैगर्दा छिमेक नीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । विगतका दुई कार्यकालमा नेपाललाई उच्च महत्व दिएका मोदीले यो तेस्रो कार्यकालमा पनि उच्च महत्व दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन नभएको भए मोदी यही साउनमा नेपाल भ्रमणमा आउने तयारी थियो । तर, नेपालमा सरकार परिवर्तन भएको कारण उनको भ्रमण एकाएक रोकिएको चर्चा छ । अहिले भारतीय विदेश मन्त्रालयमा सचिव विक्रम मिश्री नेपाल भ्रमणमा छन् । उनी दुई दिने भ्रमणको लागि हिजोमात्रै काठमाडौं ओर्लिएका हुन् । उनी आजै साँझ नयाँ दिल्ली फर्किनेछन् ।

नेपाल बसाईको क्रममा उनले मुख्य राजनीतिक दलका नेतृत्वसँगपनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेका विदेश सचिव मिश्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भने उनीहरुको निजी निवासमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले विदेश सचिवमार्फत भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको आधिकारिक निम्तो दिएका छन् ।

जवाफमा मिश्रीले छिट्टै मोदी नेपाल भ्रमणमा आउने विश्वास दिलाएका थिए । हिजो (आइतबार) सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल्यमा भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय पक्षले पनि भ्रमणको लागि नेपाल सरकारबाट औपचारिक रुपमा नै निम्तो गरेकोले अब छिट्टै आवश्यक गृहकार्य गरेर भ्रमणको मिति तय गरिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्