Logo

भ्रष्टाचारमा शून्य सहनशिलता त केपी ओलीको एकमात्र मन्त्र हो : सुनिता बराल (भिडिओसहित)



काठमाडौं, २९ साउन । नेकपा (एमाले) की सचेतक सुनिता बरालले संसद् नियमित प्रक्रियाअनुसार नै चलिरहेको दाबी गरेकी छिन् । संसद्लाई किन विजनेश नदिईएको भन्ने ऋषि धमलाको प्रश्नमा सांसद बरालले भनिन्–‘संसद् चलिराखेकै छ । संसद्का निश्चित् प्रक्रियाहरु हुन्छन् । अहिले समितिमा धेरै विद्येयकहरु छलफल भैरहेका छन् । मूलत: कानून बनाउने थलो हो–प्रतिनिधिसभा । अहिले समितिहरुमा धेरै विजनेश भएको अवस्था हो । त्यही भएर अहिले सदनबाट गर्नुपर्ने काम धेरै नदेखिएको स्थिति हो ।’

उनले शान्ति प्रक्रियालाई टुँगो लगाउनको लागि समितिबाट सर्वसम्म्त रुपमा पारित भएको टिआरसी विद्येयक यही अधिवेशनबाट पारित गरिने स्पष्ट पारिन् । उनले भनिन्–‘टिआरसी टुँगो लगाउने विषयमा हामी एकताबद्ध भएका छौं । यो विद्येयक सदनबाट पारित हुन्छ । आजको प्रतिनिधिसभाको बैठकमा विद्येयक पेश हुन्छ । भोलिसम्म पारित हुन्छ ।’ विद्येयकले पीडितका चिन्ता र चासोलाई पनि सम्बोधन गर्ने उनको विश्वास छ ।

सो क्रममा उनले कांग्रेस र एमालेको नेतृत्वमा बनेको अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको चाहनाअनुसार काम सुरु गरेको दाबी गरिन् । सरकार बनेको भर्खरे एक महिना भएकोले अहिले नै परीणाम खोजिनु गलत हुने उनको टिप्पणी छ । नेतृ बरालले अहिले देशमा भएका शीर्ष नेताहरुमध्ये केपी ओलीले मात्रै खुला र प्रष्ट रुपमा भ्रष्टाचार नगर्ने र गर्न नदिने भनेर बोलेको सुनाईन् ।

उनले भनिन्–‘भ्रष्टाचारीलाई जोगाउने भन्ने कुराको कुनै कुराको परिकल्पना कहीँकतै नगरेको नेता हो भन्ने मलाई लाग्छ । त्यसकारण प्रश्नहरु सँगसँगै प्रशंसा र अपेक्षापनि छन् । केही प्रश्नहरु नियोजित र नियतसँग जोडिएका छन् । सहमति राति गरिएको हो कि दिउँसो भन्ने कुराको कुनै अर्थ छैन् । किनभने काम गर्दै जाँदा दिनपछि साँझ पर्छ, र साँझपछि दिन आउँछ । अहिले समयको आवश्यकत्ताअनुसार यो गठबन्धन बनेको छ । जनतालाई निराशाबाट आशामा परिणत गरेर धेरैभन्दा धेरै काम गरेर परीणाम दिन्छ ।’



प्रतिक्रिया दिनुहोस्