Logo

सिरहा कल्याणपुरका युवा अरुण शर्मा ३५ दिनदेखि काठमाडौंबाट बेपत्ता भएकोमा सांसद महतोले गराए सरकारको ध्यानाकार्षण



काठमाडौं, २९ साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले आफ्नो गृहजिल्ला सिरहा कल्याणपुरका २० वर्षीया युवा अरुण शर्मा विगत ३५ दिनदेखि काठमाडौंबाट हराउँदापनि अहिलेसम्म फेला नपरेको भन्दै सरकारसँग उनको खोजबिनको लागि अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद् महतोले संघीय राजधानी काठमाडौंबाटै युवा हराएको र खोजबिनको लागि परिवारले अनुनयन विनय गर्दापनि अहिलेसम्म पत्ता लगाउन नसक्नुले शान्ति, सुरक्षामाथि प्रश्न उठाएको टिप्पणी गरे ।

उनले भने,‘मेरो गृहजिल्ला सिरहाको कल्याणपुर—३ का २० वर्षीया युवा अरुण शर्मा विगत ३५ दिनदेखि काठमाडौंबाट हराएको र अहिलेसम्म पत्ता नलागेको अवस्था छ । काठमाडौंको लिभरपुल कलेजबाट प्लस—टु सकाएर मेडिकल शिक्षा अध्ययनको लागि प्रवेश परीक्षाको तयारी गर्दै गरेका युवा शर्मा धापाखेलमा बस्दै आएका थिए । उनी साथीलाई महालक्ष्मीस्थान (रानीबु) मा भेटेर कोठा फर्किने क्रममा २०८१ असार २५ गते साँझ ७ः१३ बजेदेखि सम्पर्कविहीन भएको परिवारको खबर थियो। मैले जनप्रतिनिधिको नाताले सुरुदेखि नै उनको खोजीको लागि प्रहरी प्रशासनलाई अनुरोध गर्दै आएको कुरा यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । तर, यत्तिका दिन बितिसक्दापनि उनको अझै कुनै अत्तोपत्तो छैन् । संघीय राजधानीबाटै युवा हराएको यतिका दिन बितिसक्दापनि उनको अवस्था अझै अज्ञात हुनुले चिन्ता बढाएको छ । यसतर्फ सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’

यस्तै, महतोले मधेशको लाईफलाईनको रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुल नबन्दा स्थानीयहरुले ठूलो सास्ती व्यहोर्नुपरेको उल्लेख गरे । उनले भने,‘दुवै जिल्ला सिरहा र धनुषाका जिल्लावासीहरुले यो विषयमा पटक—पटक मधेश प्रदेशका मन्त्री, मुख्यमन्त्रीदेखि सबै सराकोरवाला निकायलाई पुल निर्माणको लागि ध्यानाकार्षण गराउँदै आएका छन् । तर, यस विषयमा आजसम्म कुनै सुनुवाई हुन सकेको छैन् । दुवै जिल्लाका जनताले यो वर्षायाममा ठूलो सास्ती भोग्नुपरेको समाचार छन् । यसतर्फ सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु ।’

सो क्रममा उनले आफ्नो जिल्लाकै कल्याणपुर नगरपालिका वडा नम्बर ८ मा अवस्थित् बथाह खोलामा कटानका कारण सिँगो बस्ती नै जोखिममा परेको भन्दै सरकारको ध्यानाकार्षण गराए । नदी कटानबाट हजारौं बिघा खेतियोग्य जमिन र सिँगो बस्ती नै जोखिममा परेको भन्दै पूर्वमन्त्री महतोले तत्काल यसको रोकथामतर्फ सरकारको ध्यानाकार्षण गराए ।



प्रतिक्रिया दिनुहोस्