ढोरपाटन (बागलुङ), २९ साउन । गत साता बागलुङको बडिगाड गाउँपालिका– ९ र १० मा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।
प्रदेश र सङ्घीय सरकारले बनाएको कार्यविधि अनुसार ज्यान गुमाएका प्रति परिवार नगद दुई लाखका दरले राहत रकम उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । पहिरोमा परि ज्यान गुमाएका ११ जनाको परिवारलाई प्रशासनले घटनास्थलमै पुगेर राहत उपलब्ध गराएको हो ।
प्रजिअ बरालले सरकारले प्राकृतिक विपद्मा परि ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराउने नीति अनुसार राहत रकम प्रदान गरिएको बताए । बडिगाड गाउँपालिका–१० आरुपाटाका जोगबहादुर बुढाको घरमाथिबाट खसेको पहिरोले नौ जनाको ज्यान लिएको थियो ।
पहिरोमा परेका एक बालक अझै बेपत्ता छन् । पहिरोमा पुरिएर १० जना घाइते भएका थिए । गम्भीर घाइते १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोही दिन वडा नम्बर–९ नयाँबस्तीमा पहिरोमा परी दुई जनाको ज्यान गएको थियो । रासस