काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता डा. चन्द्र भण्डारीबीच भेटवार्ता भएको छ । पछिल्लो समय थापाले पार्टीभित्र आफ्नो समूहका नेताहरुसँगको भेटवार्ता बाक्लो बनाएका छन् । हालै संसद्मा बोल्दा सरकारको राम्रा काममा समर्थन रहने तर नराम्रा काममा कडा खबरदारी गर्ने भाषण गरेका गगनले आफ्नो समूहका नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिइरहेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा सभापति शेरबहादुर देउवालाई समयमै १५औं महाधिवेशन गर्नेगरि केन्द्रीय कमिटीबाट निर्णय गराउन लागिपरेका थापाले भण्डारीसँग अब भदौ ७ गतेबाट सुरू हुने केन्द्रीय कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको बुझिएको छ ।
भण्डारी कांग्रेस–एमाले सरकारमा सहभागी हुने भनेर चर्चा गरिएपनि अन्तिममा सरकारमा सहभागी हुनबाट रोकिएका नेता हुन् । उनलाई मन्त्री नबनाईएकोमा पार्टीको ठूलो पँक्ति सभापति देउवादेखि महामन्त्री थापासँग रुष्ट रहँदै आएको छ । भण्डारीले पनि आफूलाई मन्त्री नबनाईएकोमा आक्रोश पोखेका थिए ।