जेनेभा, ३१ साउन । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले बिहीबार मस्कोलाई युक्रेनी सेनाको सीमापार आक्रमणबाट प्रभावित रूसी सीमा क्षेत्रको भ्रमण गर्न अनुमति दिन आग्रह गरेको जनाएको छ ।
“म पुष्टि गर्न सक्छु कि संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले रूसी अधिकारीहरूलाई बेल्गोरोड, ब्रायन्स्क र कुस्र्क क्षेत्रसहित आक्रमणबाट प्रभावित रूसी सङ्घका क्षेत्रहरूमा हाम्रो मानव अधिकार निगरानी र मूल्याङ्कनका लागि पहुँचको सुविधा प्रदान गर्न अनुरोध गरेको छ,” संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयका प्रवक्ता लिज थ्रोसेलको एएफपीलाई प्राप्त इमेलमा भनिएको छ ।
पछिल्लो समय युक्रेनले रूसको कुस्र्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । बुधबार सबैभन्दा ठूलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रूसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
युक्रेनी जनरल स्टाफले टेलिग्राममार्फत् सार्वजनिक गरेको विज्ञप्ति अनुसार रूसको भोरोनेज, कुस्र्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्यन हतियार नष्ट गर्नु रहेको उल्लेख छ । रासस