Logo

दुवै मिर्गौला फेल भएका रामेछापका विश्वराज बुढाथोकीद्वारा थप उपचारका लागि आर्थिक सहयोगको याचना (भिडिओसहित)



काठमाडौं, ३२ साउन । दुवै मिर्गौला फेल भएका पीडित विश्वराज बुढाथोकीले आफ्नो थप उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको लागि याचना गरेका छन् । रामेछाप मन्थली–३ स्थायी घर भएका बुढाथोकी विगत ३ वर्षदेखि दुवै मृगौला फेल भएर उपचाररत छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बुढाथोकीले देश तथा विदेशमा रहेकाहरुसँग आफ्नो उपचारको लागि सहयोग गरिदिन अपिल गरेका हुन् ।

पीडित बुढाथोकीकाअनुसार गत २०८० माघ २ गते वीर अस्पतालमा उनको मृगौला प्रत्यारोण भएको थियो । उनलाई ६५ वर्षीय बुबाले मृगौला दिएका थिए । मृगौला प्रत्यारोपणपछि पनि स्वास्थ्यमा कुनै सुधार नआएको र झनझन् अरू समस्या थपिँदै गएको उनले बताए । उनको थप उपचारका लागि चिकित्सकले भारत जान भनेर रिफर गरेका छन् ।

डाक्टरको सल्लाहअनुसार थप उपचारका लागि भारतको अखिल भारतीय आयु्र्विज्ञान संस्थानमा जानुपर्ने भएको र आर्थिक अभावका कारण रोकिएर बसेको उनले बताए । विश्वराजले उपचारका क्रममा २२ लाखभन्दा बढी रकम सकिएको र अब थप उपचारका लागि आफूसँग कुनै विकल्प नभएकाले सबैसमक्ष सहयोगको लागि याचना गर्नुपरेको स्पष्ट पारे । सामान्य ज्याला मजदुरी गर्दै आएका विश्वराजको उपचारका लागि अन्य कुनै स्रोत छैन ।

३३ वर्षीय विश्वराजको श्रीमती र एक छोरा छन् । आफ्नो उपचारको क्रममा सबै सम्पत्ति सकिएकाले छोरालाई पढाउनसमेत नसक्ने अवस्था आएको उनले बताए । अहिले भक्तपरको गठ्ठाघरमा डेरामा बस्दै आएको विश्वराजले आफूलाई सकेको सहयोग गरेर बचाइदिन आग्रह गरेका छन् ।

सो क्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले विश्वराजले पैसाको अभावको कारण थप उपचार गर्न नपाएको भन्दै उनको उपचारको लागि सबैले सकेको सहयोग गर्नुपर्ने बताए । उनले बुढाथोकीको उपचारको लागि अभियान नै थालिनुपर्ने बताए । सरकारले गम्भीर प्रकृतिका विरामीको लागि उपचार प्याकेज ल्याउनुपर्ने उनको सुझाव थियो ।

आर्थिक सहयोगका लागि विश्वराज बुढाथोकीको ग्लोबल आईएमी बैंकको खाता नं. ११८०७०१००८१६८९ रहेको छ । साथै, आवश्यक जानकारीका लागि उनको मोवाइल नं. ९८४४१३७००४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्