काठमाडौं, १ भदौ । हिन्दु नारीहरुको महान पर्व तीज बजारमा नजिकिदैं छ । तीजसँगै नयाँ नयाँ गीतहरु पनि सार्वजनिक हुँदैछन्,बजारमा अधिकांश छाडा र अश्लिल गीतको बाढी आइरहेको समयमा सरकारका बहालवाला सचिवले नै तीजसँग सम्बन्धित गीत बजारमा ल्याएका छन् ।
साहित्यिक र सांगीतिक बजारमा सियारा आचार्य उपनामले परिचित सुरेश आचार्यले तीज गीत “स्वामीजीले भन्छन्” बजारमा ल्याएका हुन । सार्वजनिक भएको एक दिनमै यो गीतलाई दर्शक तथा श्रोताहरुले अत्याधिक मन पराएको देखिएको छ । उक्त गीतका शब्द सुरेश आचार्यकै रहेको छ । राजेश थापाले संगीत भरेका छन् । गायिका सुनिता बुढा छेत्रीको सुमधुर स्वर रहेको छ। ए प्लस स्टुडियोमा रेकर्ड गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन र नरेश बिसीले मिक्सिङ र मास्टरिङ गरेका हुन्। पुजा ठकुरीको निर्देशन,अनिल राईको कोरियोग्राफी रहेको उक्त भिडियोमा जुना कार्की,संजु आचार्य,सुरज लुइँटेलको अभिनय रहेको छ। करण चैसिरले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् ।
निजामती सेवामा प्रवेश नगर्दै साहित्य क्षेत्रमा कलम चलाउदै आएका आचार्य सेवाबाहिर रहँदा साहित्य सिर्जनामै घोत्लिन्छन् ।सेवाबाहिर रहँदा साहित्य सिर्जनामै व्यस्त रहने आचार्य जागिरपछि बचेको समयमा निरन्तर संगित क्षेत्रमा लाग्ने बताँउछन् ।सियराद्धारा रचित गीति एल्बम हाम्रो मौलिक शहर आज, गहिरो छ माया,तिम्रो प्रेरणाले,मुलुकले आज केही खोजिरहेछ, ‘रमाउँदै आयौ’ चुपचाप गीति एल्बमहरु बजारमा ल्याइसकेका छन् । यस्तै हाम्रो मौलिक शहर,न नजर थियो यहाँ न बहर थियो,गहिरो छ माया लगायत गरी एक दर्जन गीतहरु बजारमा ल्याइसकेका छन,आचार्यले ।
पेशाले प्राविधिक अर्थात एरोनोटिकल इञ्जिनियर हुन सुरेश आचार्य । नेपालमा हवाई क्षेत्रको बिषयमा विज्ञ मानिन्छन्,उनी । सहसचिव हुँदा लामो समय पर्यटन मन्त्रालयमा बिताएका आचार्य सचिव भएपछि उक्त मन्त्रालयको जिम्मेवारी पाएनन् कहिले नेपाल ट्रष्ट,कहिले राष्ट्रिय सर्तकता केन्द्र हुँदै शहरी,खानेपानी,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा कार्यरत रहेका उनी अहिले अहिले जल तथा उर्जा आयोगमा पुगेका छन् ।