Logo

खुमलटारमा पुगेका जनार्दनसँग प्रचण्डको खुला खुलस्त छलफल, सम्बन्धमा हार्दिकता देखियो



काठमाडौं, १ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । अध्यक्ष दाहाललाई भेट्नको लागि जनार्दन आज (शनिबार) विहान खुमलटार पुगेका थिए । दुई नेताबीच पछिल्लो समय सम्बन्धमा चिसोपना आएको चर्चा छ ।

पार्टीको स्थायी कमिटी बैठकसम्म आईपुग्दा जनार्दनले अध्यक्ष प्रचण्डले तत्काल नेतृत्वबाट विदा लिनुपर्ने भन्दै विभिन्न आरोपसहितका माग लिखित रुपमा नै राखेका थिए । जनार्दनको प्रस्तावले माओवादी विभाजन हुने हो कि भन्ने चिन्ता आम कार्यकर्ताहरुमा परेको थियो । तर, स्थायी कमिटी बैठक सकिने बेलासम्म शर्मा र दाहालबीचको सम्बन्धमा केही सुधार देखिएको थियो । आज जनार्दन अध्यक्ष दाहाललाई भेट्न खुमलटारमा पुगेका थिए ।

दुई नेताबीच सम्बन्धमा एकदमै हार्दिकता छल्किएको थियो । अध्यक्ष दाहालले पनि जनार्दनले पार्टी फुटाउँदैछ भन्ने हल्ला गलत भएको भन्दै आफूहरु एकताबद्ध भएको सन्देश प्रवाह गरेका छन् । शर्माले पनि आफूले अध्यक्ष दाहाललाई कमजोर बनाउनको लागि नभएर बलियो बनाउनको लागि नै लिखित रुपमा प्रस्ताव पेश गरेको स्पष्टीकरण गर्ने भएका छन् । file photo

उनले छिट्टै सार्वजनिक रुपमा आफ्नो लिखित प्रस्ताव र अध्यक्ष दाहालसँगको सम्बन्धबारे प्रकाश पार्ने बुझिएको छ । प्रदेशस्तरमा हुने कार्यक्रममा अध्यक्ष दाहालले शर्मालाई पनि साथमै लिएर जाने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्