काठमाडौं, २ भदौ । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेको छ । सरकारसँग सहकार्य गरेर खोलिएको एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउनको लागि महतोको टोलीले अर्थमन्त्री पौडेलसँग भेट गरेको हो ।
संघका वर्तमान अध्यक्ष डा. बद्री केसीसहित अर्थ मन्त्रालयमा मन्त्री पौडेलसँग भएको उक्त भेटवार्तामा फण्ड सञ्चालनमा ल्याउनेबारे छलफल भएको महतोले जानकारी दिए । फण्डका संस्थापक अध्यक्ष पनि महतो नै हुन् ।
सो छलफलबाट आगामी २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउनेगरि तयारी थाल्ने सहमति भएको छ । नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो । त्यतिवेला संघको अध्यक्षमा कुमार पन्त थिए ।
सो फण्डमा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडको ९५ प्रतिशत लगानी हुनेछ । र, सरकारले प्रोत्साहनको लागि पनि ५ प्रतिशत लगानी गर्नेछ । file photo