Logo

प्रधानमन्त्री ओलीसँग भेट नपाएपछि वामदेवले गुहारे सदन, इजरायलबाट केमिकल ल्याउन सुझाए



काठमाडौं, २ भदौ । राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ सरकारी व्यक्तिहरुलाई भेट्न नपाएको गुनासो पोखेका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्ने क्रममा उनले यस्तो गुनासो पोखेका हुन् । उनले गम्भीर विषयमा प्रधानमन्त्रीको ध्यानाकार्षण गराउनको लागि समय मागेपनि नपाएपछि आफुले सदन गुहारेको स्पष्ट पारे ।

उनले भने,‘एउटा विषयमा ध्यानाकर्षण गराउनको निम्ति आएको हुँ। सरकारका प्रमुख व्यक्तिहरुसित पनि कुरा हुने विषय हो यो । तर, मैले समय पाउँदिन् सरकारका माथिल्लो तहका प्रधानमन्त्रीहरुसित भेट गर्न पाउँदिन । त्यसो भएर आज मैले राष्ट्रिय सभालाई गुहारेको छु। २०७३–०७४ सालतिरको कुरा हो । त्यसबेला इजरायलका राजदूत विष्णु पौडेलको घरमा भेट गर्न आउनुभयो । त्यतिवेला म पनि सन्जोगले त्यहाँ जान पाएको थिएँ । उहाँले भन्नुभयो, हामीले धेरै समयको खर्च गरेर वैज्ञानिकहरु प्रयोग गरेर विटुमुनको ठाउँमा अर्को एउटा केमिकल विकास गरेका छौं, जसले नेपालजस्तो देशमा बाटोघाटो बनाउनको लागि त्यसले धेरै मद्दत गर्नसक्छ, काम गर्न सक्छ । र, त्यो सयौं वर्षसम्म बिग्रन्न र भत्किँदैन भन्नुभयो । यसको लागि कसलाई पठाउनुहुन्छ, पठाउनुहोस, प्रधानमन्त्रीलाई पठाईदिनुहोस म सहयोग गर्न तयार छु भन्नुभयो । अब यो समयक्रममा मैले यो बिर्सिँदै गएँ । विष्णु पौडेलले भन्नुभयो कि भन्नुभएन ? मलाई थाहा छैन् ।’

उनले नेपालको समस्याको कुरा सुनाउँदै नेपालमा जतिपनि घट्ना घटेका छन् ती भौगोलिक र प्राकृतिक अवस्थाले घटेको सुनाए । प्राकृतिक घट्ना घट्नुअघि नेपालका राजनीतिक नेतृत्वहरुको ध्यान नगएको उनको गुनासो थियो । अब भने त्यसतर्फ ध्यान दिनुपर्ने सुझाए । उनले इजरायलबाट त्यस्तो केमिकल ल्याउनको लागि पहल गर्नुपर्ने सुझाए । उनले त्यो केमिकल ल्याउन सकिए नेपालको नदी, नाला, सुरक्षित हुनसक्ने बताए । सो क्रममा उनले देशैभरि दुःखद् घट्ना घटेको र नेपालीले ज्यान गुमाउनुपरेकोमा दुःख व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्