Logo

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच आज साँझ भेटवार्ता हुँदै



काठमाडौं, भदौ ३ । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज साँझ त्यहाँस्थित प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएकी छन् । सोमबार साँझ साढे ७ बजे परराष्ट्रमन्त्री राण र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुने समय तय गरिएको हो ।

परराष्ट्रमन्त्री राणा असार ३० गते नयाँ सरकार बनेयता पहिलो पटक भारत भ्रमणमा गएकी हुन् । यो भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भ्रमणको टुंगो गर्नेछिन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो पनि हस्तान्तरण गर्ने छिन्। परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी डा। एस। जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग पनि आज आज नै अपराह्न भेटवार्ता गर्ने कार्यतालिका निर्धारण गरिएको छ । मन्त्रालयले भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्