Logo

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै



काठमाडौं, भदौ ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री आचार्यले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

नेकपा (एमाले)का संसदीय दलका उपनेता रहेका आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। उनलाई आज सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन्। जसमध्ये एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन्।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन कांग्रेस, एमाले लगायतका दलले ह्विप जारी गरेका छन् । त्यस्तै, उनले जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपाको पनि विश्वासको मत पाउँने भएका छन्।

मन्त्रीपरिषद्मा अहिले एमालेबाट मुख्यमन्त्रीसहित पाँच र कांग्रेसबाट चार जना मन्त्री रहेका छन्। लुम्बिनीमा जनमतका तीन, लोसपाका तीन, जसपाका दुई, जसपा नेपालका एक र नाउपाका चार सांसद रहेकाले उक्त दलले विश्वासको मत दिएमा आचार्यले दुई तिहाइ समर्थन प्राप्त गर्ने देखिएको छ । संसदबाट आज विश्वासको मत पाएपछि उनले सरकार विस्तार गरेर १२ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्