Logo

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं, भदौ ५। आज संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक आज बस्दैछ । जसअन्तरगत अहिले बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ । यस्तै, ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गरिनेछ ।

दिउँसो साढे १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि तथा राज्यका निर्देशक सिद्धान्त र नीतिहरूका सम्बन्धमा छलफल हुनेछ । दिउँसो पौने ४ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारको अवस्था सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्