रौतहट, ५ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पुर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरुलाई सरकारले संरक्षण गरेको गम्भीर आरोप लगाएका छन् । गृहजिल्लामा रहेका अध्यक्ष साहले सरकारले नै मानव तस्करीको काम गरिरहेको आरोप लगाएका हुन् ।
रौतहटको छतौना र विश्रामपुरमा आज (बुधबार) आजपा नगर कमिटीद्वारा आयोजित ‘‘वैदेशिक रोजगारका ठगलाई सरकारले कारवाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै साहले वैदेशिक रोजगारका ठगहरुलाई कारवाही नगरी सरकारले संरक्षण गरेको आरोप लगाएका हुन् ।
‘गाउँ देहातका गरिब युवाहरू रोजगारका लागि बिदेशिन बाध्य छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ’ अध्यक्ष साहले भने,‘नेपालमा स्वास्थ्य परिक्षण गरि वैदेशिक रोजगारमा जाने युवाको बिदेशमा मृत्यु हुन्छ । उनीहरुको लाश नेपाल आउँछ । यहाँ बलियो, स्वस्थ रहेका युवाको बिदेशमा मृत्यु कसरी हुन्छ ? यहाँ एउटा काम भन्ने त्यहाँ अर्को काममा लगाउने । फ्री टिकट फ्री भिसा भन्ने तर मोटो रकम लिएर विदेश पठाउने । अलपत्र पार्ने, यस्ता भ्रष्ट र लुटेरालाई कारवाही नगरी सरकारले संरक्षण गर्ने काम भइरहेको छ ।’
सरकारका केही मन्त्री र सरकारमा सहभागी दलका नेताले कमिसनमा गैरकानुनी काम गरिरहेको बताउदै उनले सरकारकै संरक्षणमा म्यानपावर कम्पनीहरुले मानव तस्करी र लूट धन्दा चलाएर गरिब युवाहरूलाई लुटिरहेको बताए । यस्ता लुटेरा र भ्रष्टहरुलाई कारवाहीको माग गर्दा समेत मन्त्रीहरु मौन बस्ने र सरकारी निकायले केही नगर्नाले पीडित परिवारले झन दुःख पाइरहेको साहको गुनासो छ । यस्ता भ्रष्टहरुका विरुद्ध जनकारवाहीका लागि आम जनता तयार हुनुपर्ने उनले बताए ।
कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारका ठगहरुलाई सरकारले नै पालिरहेको निश्कर्षसहित पीडितलाई न्याय दिलाउन जस्तोसुकै आन्दोलन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष साहले मधेशका विभिन्न जिल्लामा आयोजित पार्टीका कार्यक्रममा नेता तथा कार्यकर्ताहरुमार्फत जनतालाई तेस्रो निर्णायक जनआन्दोलनको लागि तयार रहन अपिल गरेका छन् ।
उनले अहिलेको व्यवस्था लुटकारी रहेको र लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको निश्कर्षसहित तेस्रो जनआन्दोलनको आवश्यकत्ता औंल्याएका छन् । साहले आफ्नै दलको नेतृत्वमा अब तेस्रो जनआन्दोलन सम्पन्न हुने भन्दै त्यहीअनुसारको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
साहले कांग्रेस–एमालेको अहिलेको सरकार लामो समय नटिक्ने दाबी गरेका छन् । दुवै दलका नेतृत्वहरुको स्वार्थको कारण अहिलेको सत्ता गठबन्धन बनेको भन्दै यो गठबन्धन लामो नजाने उनको ठोकुवा छ ।