Logo

कष्टकर बन्दै कैलालीका बाढी प्रभावितहरुको जनजीवन



धनगढी, भदौ ६। निरन्तरको बर्षाका कारण डुबानमा परेको कैलालीको प्रभावित क्षेत्रको जनजीवन थप कष्टकर बनेको छ । बुधबार आएको बाढी घट्न नपाउँदै राति थप वर्षा भएपछि डुबान यथावत् रहेको छ ।

बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा डुबानमा परेको छ । राति तीन घण्टासम्म कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको हो । डुबान प्रभावित क्षेत्रका स्थानीयका रातभरि बिचल्ली भएको जनाइएको छ ।

हिजो आएको बाढीका कारण प्रभावित कैलारी गाउँपालिका–५ को मनिकापुरका स्थानीय डुबान भएको घरमा रातभरि जाग्राम बसेको बताइएको छ । यसै गरी, भजनी नगरपालिकाका डुबान प्रभावित स्थानीयको जनजीवन पनि कष्टकर बन्दै गएको स्थानीयले बताएका छन् ।

कैलालीको धेरै भूभागमा पछिल्लो तीन घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । सो कार्यालयका अनुसार भारी वर्षापछि कलरिया, कान्द्रा, घुरहा नदीसहित मोहना नदीको सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भूभागमा डुबानको जोखिम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्