Logo

चितवनको माडीमा माछाजोन कार्यक्रम लागु



भरतपुर (चितवन), ६ भदौ । माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइमार्फत माडीमा चालु आर्थिक वर्षदेखि माछा जोन कार्यक्रम लागु भएको हो ।

परियोजना प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीका अनुसार माछाको क्षेत्र विस्तार र उत्पादनलाई उद्योगसँग जोडेर किसानलाई व्यवसायीकिकरण गर्ने उद्देश्यले माडीमा जोन स्थापना गरिएको छ । यस वर्ष कार्यालयले मत्स्य पर्यटन प्रवर्द्धन, माछाको उन्नत प्रविधि प्रवर्द्धन, एकीकृत माछापालन, नश्ल सुधार, ह्याचरी सुदृढीकरण, पोखरी निर्माण तथा सिँचाइलगायत क्षेत्रमा परियोजनाले काम गर्ने छ । यो आर्थिक वर्षमा यी कामका लागि करोड १७ लाख बजेट विनियोजन गरिएको छ ।

माडीका सबै वडामा माछापालन हुने गरेको छ । यहाँ पाँच सय हेक्टर क्षेत्रफलमा माछापोखरी निर्माण गरिएको छ । माडीमा आठ सय हेक्टरमा माछापालन क्षेत्र विस्तार गर्ने योजना रहेको परियोजनाका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए । कार्यक्रम सञ्चालन गर्न माडीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । जोन कार्यालय सञ्चालनका लागि कोपिला सिवाकोटीको संयोजकत्वमा नौ सदस्सीय मत्स्य जोन सञ्चालक समन्वय समिति गठन गरिएको छ ।

यस वर्ष कार्यक्रम सञ्चालनका लागि परियोजनाले किसानलाई सूचीकृतका लागि आह्वान गरेको छ । परियोजनाले माछाको सामुदायिक फिड मिल तथा भण्डारणगृह निर्माण, माछाको ह्याचरी सुदृढीकरण तथा सञ्चालन माछापोखरी सिँचाइ तथा मर्मतसम्भार, मत्स्य पोखरी क्षेत्र विस्तारलगायत कार्यक्रममा प्रस्ताव आह्वान गरेको छ । परियोजनाका कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिने अधिकृत ढुङ्गानाले जानकारी दिए ।

चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुने गर्छ । जिल्लाभर एक हजारभन्दा बढी हेक्टर क्षेत्रमा माछापालन गरिएको पशु सेवा कार्यालयका मत्स्य विकास अधिकृत भीमदत्त भट्टले जानकारी दिए । जिल्लामा प्रतिहेक्टर दुई दशमलव पाँच क्विन्टल माछा उत्पादन हुँदै आएको छ । परियोजनामार्फत चितवनमा सागसब्जी, धान, केरा, मौरी जोन कार्यक्रम सञ्चालनमा छन् । रासस



प्रतिक्रिया दिनुहोस्