Logo

सुक्खा पहिरोले त्रासमै बित्छ दिन



चौतारा (सन्धुपाल्चोक), ६ भदौ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ बाँसखर्कबाट अप्रत्याशित रुपमा आइतबार रातिबाट सुक्खा पहिरो खसेपछि तिपेनीबजार र इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् ।

सुक्खा पहिरोले इन्द्रावती नदी साँघुरो हुँदै जाँदा थुनिने त्रासले इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा निदाउन सकेका छैनन् । बाँसखर्कको तल्लो भागबाट झर्न थालेको पहिरो अहिलेसम्म नरोकिएपछि इन्द्रावती नदी थुनिने हो कि भन्ने चिन्ताले रातभर निदाउन नसकेको तिपेनी बजारका स्थानीय युवराज गिरी बताउँछन् । यदि आकस्मिक रुपमा ठूलो पहिरो झरेमा इन्द्रावती नदी थुनिदाँ यसले ठूलो क्षति पु¥याउने उनी बताउँछन् ।

पहिरोबाट पाँचपोखरीको तिपेनीमा रहेको प्राथमिक अस्पतालसहित, बजार र आसपासका केही संरचना सबैभन्दा बढी जोखिममा परेको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी बताउँछिन् । नदीको छेउमा माथिबाट खसेको पहिरोले थुपारेको गेग्रानले नदी नथुनियोस् भनेर अहिले हटाउने काम भइरहेको उनी बताउँछिन् ।

गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार पहिरो क्षेत्रमा ३५ जनाको सेनाको समूहसहित प्रहरीको विपद् टोली तैनाथ रहेको छ । इन्द्रावती नदीले तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ । नदीले निरन्तर गेग्रान बगाइरहँदा चर्किएको माथिल्लो भाग खस्ने सम्भावना छ । यदि डाँडाको माथिल्लो भाग खस्यो भने नदी थुनिन सक्छ र यसले ठूलो क्षति पु¥याउने भन्दै स्थानीय त्रसित छन् । वर्षाको समय भएकाले अहिले पहिरो नियन्त्रणका लागि दीर्घकालीन उपाय खोज्न नसकिने लामा बताउँछन् ।

पहिरोका कारण बाँसखर्कको तल्लो क्षेत्रमा धाँजा फाटेका र चिरा परेका भाग पनि एकै पटक नदीमा खस्ने सम्भावना देखिएको स्थानीय गमला गिरी बताउँछन् । त्यसैले नदी जुनसुकै बेला थुनिनसक्ने जोखिम रहेकाले वर्षा र पहिरो खस्न नरोकिएसम्म यस क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ । रासस/file photo



प्रतिक्रिया दिनुहोस्