Logo

रवि लामिछानेसँग राति १ बजेसम्म बयान, ५१ प्रश्नमध्ये अधिकांशमा उम्किन खोजे



काठमाडौं, भदौ ८ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार राती १ बजेसम्म बयान लिएको छ । समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे शुरु भएको बयान राति १ बजेसम्म चलेको थियो ।

तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले ९ घण्टासम्म लिइएको बयानमा लामिछानेले ५१ वटा प्रश्नको जवाफ दिएका छन् । समितिका सभापति सूर्य थापाले समाजिक सञ्जाल फेसकुकमा लेखेका छन्, ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति, राति १ः५ बजे मा रवि लामिछानेको सोधपुछ प्रतिवेदनमा हस्ताक्षरपछि‍‍‍‍ ।’

समितिका सदस्यले विभिन्न सहकारीबाट गोर्खा मिडियामा आएको रकम र तत्कालीन प्रबन्ध निर्देशकका रूपमा लामिछानेका दायित्वका विषयमा ५१ प्रश्न सोधेका छन। जसमध्ये तथ्य र प्रमाणसहित सोधिएका कतिपय प्रश्न स्वीकार गरेपनि अधिकांश प्रश्नमा उनी थाहा छैन, थाहा भएन, मेरो संलग्नता छैन, जीबी राईलाई थाहा होला भनेर उम्किन खोजेको समितिका एक सदस्यले जानकारी दिए।

उनले आफूले गोरखा मिडियामा कार्यक्रम उत्पादन र सञ्चालनको पक्षमात्र हेरेको र आर्थिक पक्ष जीबी राईको जिम्मेवारी रहेको बयान दिएका छन। समितिले शुक्रबारसम्म सहकारी ठगी प्रकरणसँग जोडिएका ५० जनासँग सोधपुछ गरेको छ । जसमध्ये सहकारी ठगेको आरोपमा जेल सजाय भोगिरहेका २० जनासहित ५० जनासँग बयान लिइएको हो ।



प्रतिक्रिया दिनुहोस्