Logo

वर्तमान सरकारविरूद्ध माओवादीले बाह्य शक्ति गुहारेको एमाले सांसद लामाको आरोप



काठमाडौं, ८ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद तारा लामा तामाङले देश बनाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्ट पारेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भने सरकारको विरुद्धमा बाहिरी शक्तिलाई पनि गुहारेको भन्दै लामाले गम्भीर टिप्पणी गरे ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले देशलाई समृद्धिको दिशामा डोर्याएको र जनतामा आशाको किरण छर्न थालेपछि केही शक्तिहरु आँत्तिएको र सरकारविरुद्ध तथानाम बोलेर हिँड्न थालेको टिप्पणी गरे ।

उनले भने,‘अहिले देश समृद्धितर्फ जाने देखेपछि, नेपालभित्रकै केही तप्का छट्पटाएर तथानाम बोलेर हिँडिरहेको छ । यसलाई नेपाली जनताले चिर्नेछ । यसको बलमा केही बाहिरी शक्तिहरुपनि हुनसक्छन् । तर, हामीलाई जानकारी भएसम्म त्यस्तो केहीपनि छैन् । तर, पनि उहाँहरुले बाहिरी शक्तिहरुलाई गुहार्न खोजिरहेको जस्तो देखिन्छ । परराष्ट्रमन्त्रीज्यूको अस्तिको भारत भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दलले यो सरकारको बारेमा विभिन्न टिकाटिप्पणी गरेको छ । यस्तो राष्ट्रियताको सवालमा, परराष्ट्रको सवालमा सत्तासँग गाँज्नु भनेको एउटा कमजोरी हो । यो एउटा अल्पसोच हो । जनताको आशा जागेको छ । देशमा अब केही हुन्छ है भन्ने आशा जागेको छ। हिजो मान्छे लगानी गर्न डराउँथे । आज साना तथा ठूला लगानीकर्ता जुमुर्राएका छन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले कांग्रेस र एमालेबीचको सत्ता–सहकार्य पवित्र उद्देश्यसहित सुरुवात भएकोले यसले देशलाई निकास दिएको दाबी गरे । उनले थपे,‘चुनावपछि नै हामीलाई मिलेर सरकार बनाउन सुझाव आएको थियो । त्यतिवेला भएन । तर, अहिले ढिलै भएपनि हामीबीच सहकार्य भएको छ । यसले कांग्रेस र एमालेलाई के के फाईदा भयो भनेर म भन्दिनँ, तर देशलाई फाईदा भएको छ । कांग्रेस र एमाले एक–अर्काको प्रतिष्पर्धी शक्ति हुन् । यो सरकार बनेको आज ४० दिन पुग्न लागेको छ । जनतामा आज आशा जागेको छ । हिजो जनतामा निराशा थियो । तर, अहिले जनतामा आशाको त्यान्द्रो बढेको छ । अब सरकारले केही गर्छ भनेर जनताले पनि खुशी व्यक्त गरेका छन् ।’

सांसद लामाले वर्तमान सरकारलाई दायाँबायाँ गर्ने कुनै छुट नभएको टिप्पणी गरे । उनले भने,‘अहिले यो सरकारलाई किन्तु वा परन्तु भन्ने छुट छैन् । देशको लागि सकारात्मक भएर जति सकिन्छ, स्रोत र साधनलाई परिचालन गरेर देशलाई समृद्धिको बाटोमा डोर्याउनुपर्छ । समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सरकार बढिरहेको छ। अहिले आर्थिक चलायमान बढेको छ। लगानीको मात्रा धेरै गुणा बढेको छ । राजश्वको वृद्धि भएको छ । पुँजीगत खर्च धेरै भएको छ । अहिले जनताले सरकारप्रति भरोसा गरिरहेका छन् । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा बनेको सरकारले मन्त्री र कर्मचारीहरुलाई केही टास्क दिएको छ । तीन महिनाभित्र लक्ष्यसहित आउन भनेर मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । उहाँले तत्काल रिजल्ट खोज्नुभएको छ । अब सरकारले कामलाई अघि बढाउनेछ । स्वदेशी तथा वैदेशिक लगानी बढिरहेको छ । व्यवस्थित् तरिकाले विकासका योजना अघि बढाउने सवालमा यो सरकार लागिरहेको छ ।’

ओली नेतृत्वको वर्तमान सरकारप्रति मित्रराष्ट्रले विश्वास र सम्मान गरेको पनि उनको दाबी छ । उनले भने,‘अहिलेको सरकारप्रति मित्रराष्ट्रले पनि आशा, विश्वास र सम्मान गरेको छ । परराष्ट्रमन्त्री आरजु राणाको हालैको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनेगरि अघि बढेको छ । उहाँले पाउनुभएको सम्मानले पनि यो सरकारको महत्व छिमेकीले कति राखेको छ भन्ने देखिन्छ । विगतमा त्यस्तो थिएन । विगतमा जोसुकै आउँदा पनि भेट हुने र हाम्रो जाँदा त्यस्तो थिएन । यसपालि ब्रेक–थ्रु भएको छ ।’

उनले वर्तमान सरकारले आफ्नो लक्ष्य निर्धारण गरेर काम गरेकोले त्यसमा सफल हुने विश्वास दिलाए । उनले भने,‘यो सरकार बनेदेखिनै नै लक्ष्य हाँसिल गर्नेगरि अघि बढिरहेको छ । भ्रष्टाचारको सन्दर्भमा यो सरकारले शून्य–सहनशिलताको नीति लिएको छ । यसमा कुनै शंका तथा उपशंका नगरे हुन्छ । यो सरकार देश र जनताको लागि जस्तोसुकै कठोर निर्णय गर्नुपरेपनि पछि हट्दैन् । बरु, समृद्धिको लागि एक कदम अघि बढ्छ ।’

सरकारले राम्रो काम गर्न थालेपछि अहिले बजारमा सरकारलाई बदनाम गर्न केही तत्वहरु लागिपरहेको उनको आरोप छ । उनले भने,‘सरकारको बारेमा केही बदनाम गर्नको लागि लागिपरहेका छन्, खासगरी सत्ता गुमेको चिन्ताले ती कुरा आएका हुन् । हामीले व्यवस्थित् तवरले काम गरेका छौं । शैक्षिक क्षेत्रदेखि विकास निर्माण हुँदै जलविद्युत र पर्यटनको क्षेत्रमा सरकारले राम्रो काम गरेको छ । जलविद्युत नै हाम्रो देशको विकासको मुख्य आधार हो । बगेर जाने पानीलाई हाईड्रोको व्यापार गर्ने हो । ठूलो देशबाट कसरी धेरै फाइदा लिने हो भन्नेतर्फ सरकारले सोचेको छ । पर्यटक भित्र्याउन दत्तचित्त भएर लागेको छ ।’

सो क्रममा उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा (फूल–फ्लेज्ड’ चलाउनेगरि सरकारले गृहकार्य थालेको दाबी गरे । उनले भने,‘सरकार यी विमानस्थल चलाउनेगरि लागिपरेको छ । पोखरा विमानस्थल सुचारु गर्नुपर्छ । सरकारले एकदमै यसमा ध्यान दिएको छ । प्रमले हवाई सुरक्षाको पनि चिन्ता गर्नुभएको छ । निकट भविष्यमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थ्ल बनाउनको लागि पनि यो सरकार लागिरहेको छ । यो सरकारले हवाई सुरक्षालाई अघि बढाउन लागिरहेको छ । खेलकुदको लागि पनि क्रिकेट रंगशाला निर्माणदेखि अन्य पूर्वाधार निर्माणमा सरकारले काम गरिरहेको छ ।’



प्रतिक्रिया दिनुहोस्