काठमाडौं, भदौ ९ । जारी साफ यू–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले भुटानको सामना गर्दैछ । यी दुई टिमबीचको खेल आज अपरान्ह ३ बजेदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ । नेपाल अपराजित रहेर सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले समूह चरणमा श्रीलंकालाई १–० तथा बंगलादेशलाई २–१ गोल अन्तरले हराएको थियो ।
भुटान समूह ‘बी’ को उपविजेताको हैसियतामा सेमिफाइनलमा नेपालसँग भिड्न लागेको हो । भुटानले हालसम्म दुईपटक उमेर समूहको सेमिफाइनल खेल्दा फाइनलको टिकट काट्न सकेको छैन । उसले सन् २०१७ र २०१९ को सेमिफाइनल खेलेको थियो । हालसम्म २० वर्षमुनिको साफमा नेपाल र भुटानले तीन खेलमा एकअर्काको सामना गरेका छन्, जसमा भुटानले दुई र नेपालले एक खेल जितेको थियो ।