गाईघाट (उदयपुर), ९ भदौ । यहाँको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसके । तर उनी अहिले पनि कृषि र पशुपालनमा सक्रिय छन् । यही पेशाबाट उनले वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएको छ ।
उनले १३ रोपनी जग्गामा फलफूलखेती गरेको छ । सबैभन्दा धेरै लिच्ची र कागती रोपेको छ । कागती बिक्रीबाट वार्षिक पाँच लाख आम्दानी गर्ने गरेको उनले जानकारी दिए । विगत ३० वर्षदेखि उनले खसीबाख्रा पाल्दै आएको छ । अहिले उनको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन् । एक सयमध्ये ३८ वटा त खसीमात्र छन् ।
उनले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस पालेको छ । खसीबाट वार्षिक सात लाखसम्म र हाँस कुखुरा बिक्री गरी चार लाखसम्म आम्दानी गर्छन् । विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय छन् ।
“मैले कृषि पेशा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ । बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ”, उनले भने, “राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ ।”
अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिन्छन् । साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिन्छन् । उनका चार छोरामध्ये उनी साहिँला छोरासँग बस्छन् । हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको बताउँछन् उनी । उनलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भन्छन्, “उहाँ कर्मठ कृषक हुनुहुन्छ । यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुनुहुन्छ । उहाँ सफल कृषकमात्र नभई समाजसेवी पनि हुनुहुन्छ ।”
पञ्चायतकालमा प्रधानपञ्च हुँदा उनले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गरे र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गरेको प्राचार्य थापामगरले जानकारी दिए । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भने, “जीतुहर्क एक सङ्घर्षशील र सफल कृषक हो । गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गर्नुभयो र त्यसपछि कृषि पेशामै फर्कनुभयो ।”
असी वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताउँछन् । “सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उनी भन्छन्, “यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन । म यसमै सन्तुष्ट छु ।”
उनी दैनिक दूधभात, मासु र फलफूल खाने गर्छन् । आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक सङ्कट पर्दा उनले सरसापटी दिने गरेको छ । ८० वर्षको उमेरमा पनि उनको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्का बताउँछन् । रासस