Logo

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग, पर्यटनमन्त्रीलाई बुझाइयो ज्ञापन पत्र



काठमाडौं, भदौ ११ । राष्ट्रिय एकता अभियानले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलता र निर्माणमा भएको भ्रष्टाचारप्रति कडा असन्तोष व्यक्त गर्दै राष्ट्रिय एकता अभियानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पान्डेलाई आज ज्ञापन पत्र बुझाउँदै बर्खास्तको माग गरेको हो ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वको टोलीले मन्त्री पाण्डेलाई बुझाइएको ज्ञापन पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा ठूला भ्रष्टाचार र प्रविधिक त्रुटिहरू भएको आरोप लगाउँदै अधिकारीको नेतृत्वमा भएको अनियमितता र असक्षमताले देशको प्रतिष्ठित परियोजनालाई गम्भीर संकटमा परेको दाबी गरिएको छ । विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा संचालनमा आउन नसक्नुमा नागरिक उड्डयन प्राधिकरणको असक्षमता मुख्य कारक रहेको पत्रमा उल्लेख गरिएको छ।

ज्ञापन पत्रमा भनिएको छ, ‘प्रदीप अधिकारीको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको छ। यस असक्षमता र भ्रष्टाचारको परिणामस्वरूप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजसम्म पनि अव्यवस्थित छ। यसले पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पारेको छ।’ पत्रमा विमानस्थल निर्माणको समयमा ठेकेदार कम्पनीहरूसँग मिली कमिशनको लागि गुणस्तरहीन सामग्री प्रयोग गरिएको, सुरक्षा मापदण्डहरूको अवमूल्यन गरिएको, र यी सबै अनियमितताहरूमा अधिकारीको प्रत्यक्ष संलग्नता रहेको ठहर गरिएको छ।

अभियानले ठोस मागहरू राख्दै प्रदीप अधिकारीलाई तुरुन्त बर्खास्त गर्न जोडदार माग गरेको छ। अधिकारीले ठूला प्रविधिक त्रुटिहरू बेवास्ता गर्दै भ्रष्टाचारमा लिप्त भएको आरोपसमेत लगाउँदै छानबिन प्रक्रिया पूरा नभएसम्म उनलाई कुनै पनि सरकारी पदमा राख्न प्रतिबन्ध लगाउन भनिएको छ।

ज्ञापन पत्रले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा देखिएको ढिलाइ र अन्योलले सम्पूर्ण नेपाली जनताको गौरवमा आँच पुर्‍याएको भन्दै यसमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन स्वतन्त्र छानबिन टोली गठन गर्न माग गरेको छ। यस टोलीले विमानस्थल निर्माणका क्रममा भएका सम्पूर्ण त्रुटिहरूको विस्तृत अध्ययन गरी दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।

अभियानले महानिर्देशक अधिकारीले संसदीय छानबिन उपसमितिको सार्वजनिक सुनुवाइबाट भाग्नुले उनको अपराधबोधलाई प्रमाणित गरेको बताउँदै उनले देखाएको असक्षमता र भ्रष्टाचारको परिणामस्वरूप उनलाई पदमा राखेर सम्मान गर्न नमिल्ने तर्क गरेको छ। साथै, विमानस्थलको सफल संचालनका लागि नागरिक उड्डयन प्राधिकरणले स्पष्ट र ठोस कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग गरिएको छ।

ज्ञापन पत्रमा नागरिक उड्डयन प्राधिकरणको समग्र कार्यसम्पादनलाई सुधार गर्न आवश्यक स्रोत, साधन, र प्रविधिको पर्याप्त व्यवस्थापन गर्न सरकारलाई सुझाव दिइएको छ। विमानस्थलको भविष्यमा प्रभावकारी सञ्चालन सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने माग गर्दै, राष्ट्रिय एकता अभियानले सरकारलाई यस विषयलाई अब नजरअन्दाज गरिए कडा आन्दोलनको चेतावनी समेत दिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा महत्वपूर्ण परियोजना भएकोले, यसमा भएको ढिलाइ र भ्रष्टाचारको परिणामले सम्पूर्ण देशलाई असर पारिरहेको बताउँदै अभियानले आवश्यक सुधार नगरेसम्म आन्दोलनलाई तीव्र बनाउने दाबी गरेको छ।



प्रतिक्रिया दिनुहोस्