Logo

सुरु भयो नाडा अटो शो, हेर्नुहोस् यस्ता छन् ब्रान्ड (तस्वीरहरू)



काठमाडौं, भदौ ११ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नाडा अटो शोको उद्घाटन गरेका छन् । उक्त अवसरमा बोल्दै उनले सरकारले सवारीसाधन बेच्ने मात्र नभएर अब उत्पादनतर्फ लाग्नु पर्ने समय आएको बताएका छन् ।

उनले भने, ‘अटो क्षेत्रका लागि नीतिगत सुधारसहित अघि बढने अहिलेको सरकारको योजना छ, अब सवारीसाधन बेच्ने मात्र होइन, अब अटो उत्पादनतर्फ लाग्नुपर्छ, राज्यले यसमा साथ दिन्छ।’ अटो मोबाइल्सको छेत्रमा देखिएको समस्यालाई समाधान गर्ने बताएका छन्। उनले विद्युतीय सवारी (ईभी) को साधनको हकमा सरकारले चाँडै नै उचित नीति लिने पनि बताए।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बर्षेनि दशैँतिहार नजिकिँदै गएपछि बृहत् अटो शो गर्दै आएको छ । यसपटकको अटो शो आजदेखि १६ गतेसम्म आयोजना गर्न लागिएको हो ।

विगतका शोहरूमा जस्तै यस वर्ष पनि नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीका सेग्मेन्टसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शन गरिने छन् ।

साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने छन् भने १३० वटा स्टलहरू रहेका छन् । अटो शो अवधिभर करिब ७५ हजार अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ ।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्