Logo

पचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र



गोदावरी (कैलाली), ११ भदौ । कृषि ज्ञान केन्दले व्यावसायिक कृषि प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ ।

केन्द्र्रले गत आव २०८०/८१ मा जिल्लामा रहेका एक सय ६० किसानलाई कृषियन्त्र वितरण गरेको हो । कृषि यान्त्रिकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभइ व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले जिलाका किसानलाई कृषियन्त्र वितरण गरिएको कृषि ज्ञान केन्द्र्रका सूचना अधिकारी श्याम जोशीले बताए ।

ज्ञान केन्द्र्रले ५० प्रतिशत अनुदानमा एक सय ६० किसानलाई कृषियन्त्र वितरण गरिएको उनले बताए । गत आर्थिक वर्षमा मिनी ट्रेलर ४८, मोटर ६८, रिपर २६, हैरो १२, कल्टीभेटर दुई, बताउने पङ्खा दुई र भ्याज ह्वील दुई किसानलाई कृषियन्त्र वितरण गरिएको सूचना अधिकारी जोशीले बताए ।

सो कार्यक्रमका लागि गत आवमा रु ५० लाख बजेट विनियोजन गरिएकामा रु ४४ लाखका कृषियन्त्र खरिद गरी किसानलाई वितरण गरिएको जोशीले जानकारी दिए । किसानलाई वितरण गरेको कृषियन्त्रले खेती गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । अनुदानमा कृषियन्त्र पाएपछि खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सकिने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा परिवर्तन आउने उनको भनाइ छ ।

अनुदानका कार्यक्रमले धान, गहँु, तरकारीको क्षेत्रफल बढ्नुका साथै उत्पादनमा समेत वृद्धि भइरहेको ज्ञान केन्द्र्रको तथ्याङ्कले देखाएको छ । ज्ञान केन्द्र्रले किसानलाई कृषि गर्ने सीपसहित प्रविधि, प्राविधिकको उपलब्धता गराउँदै आएको छ । अनुदान पाउनका लागि निवेदन दिएका किसानमध्ये अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसानलाई छनोट गरेर कृषियन्त्र उपलब्ध गराइएको ज्ञान केन्द्र्रले जनाएको छ ।

ज्ञान केन्दले जिल्लामा किसानको मागका आधारमा परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी अनुदानका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कृषिको व्यावसायिक खेतीका लागि समूह र सहकारीमा आबद्ध किसानलाई अनुदानका कार्यक्रममा समावेश गरिएको ज्ञान केन्दले जनाएको छ ।

ज्ञान केन्दले बृहत विशेष कृषि विकास कार्यक्रमअन्तर्गत आलु प्रवद्र्धन कार्यक्रम, रैथाने बाली संरक्षण, बेमौसमी तरकारीखेती, च्याउखेती, चैते धान लगायतका अन्य कृषि कार्यक्रम सञ्चालन गर्दै जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्