Logo

प्रतिनिधिसभा बैठकः महङ्गीलगायत आपराधिक घटना नियन्त्रणका लागि ध्यानाकर्षण



काठमाडौँ, ११ भदौ । सांसदहरूले देशमा बढ्दै गएको महङ्गीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भगवती चौधरीले पछिल्लो समय देशमा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै त्यस्ता क्रियाकलाप नियन्त्रणका लागि सरकारसँग अनुरोध गरिन् ।

सांसद महेशकुमार बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एकीकृत पर्यटन पवर्द्धन गर्ने उद्देश्यका साथ कार्ययोजना अगाडि बढाउनुपर्नेमा जोड दिए। सांसद माधव सापकोटाले सङ्घमा नयाँ सरकार बनेसँगै प्रदेश सरकार निर्माणमा ढिलाइ भइरहेको जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

यस्तै, सांसद मीना तामाङले काभ्रेपलाञ्चोकको बनेपा–६ की ममता काफ्लेकोे हालै अमेरिकामा श्रीमानद्वारा हत्या गरिएकाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही हुुनुपर्ने बताइन् । सांसद मेनकाकुमारी पोख्रेलले दाङको घोराही–तुल्सीपुर सडकखण्डअन्तर्गत पर्ने सेवा खोलामा निर्माणाधीन पुलको काममा ढिलाइ भएका कारण जनताले सास्ती भोग्नुपरेको बताइन् । सांसद मैना कार्कीले जाजरकोटमा पछिल्लो समय भूकम्पले सतारहेको उल्लेख गर्दै भूकम्पपीडितका लागि उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तुका विभिन्न स्थानमा बाढीका कारण जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद योगेन्द्र मण्डलले गत असार महिनामा प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सन्तोषजनक नभएको भन्दै आगामी वर्षमा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद रणकुमारी बलमपाकी मगरले एसइई र १२ कक्षाको परीक्षाफल प्रकाशित भएसँगै देशमा शिक्षाको अवस्था प्रष्ट भएको भन्दै शिक्षा प्रणाली सुधार गर्न सरकार र सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने धारणा राखिन् । सांसद रणेन्द्र बरालीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग गरे ।

सांसदहरू रामहरि खतिवडा, रोशन कार्की, लक्ष्मी तिवारी, लालवीर चौधरी, लीलादेवी लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, विक्रम पाण्डे, विजुला रायमाझी, राजेन्द्र बजगाइँ, रुक्मणी राना बराइली, रामकुमार राई र रामकृष्ण यादवले देशमा रहेको भष्टाचार, आपराधिक क्रियाकलाप र महङ्गी अन्त्य गर्नुपर्नेमा जोड दिए । रासस



प्रतिक्रिया दिनुहोस्