Logo

गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार



गुल्मी, ११ भदौ । गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो ।

परियोजनाद्वारा जोन तथा सुपर जोन कार्यक्रम अन्तर्गत ३२ वडामा क्षेत्र विस्तार गरिएको जिल्लास्थित प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख गङ्गा पोख्रेलले जानकारी दिए । परियोजनाद्वारा जिल्लाको चन्द्रकोट गाउँपालिका–२, ३ र ४, कालीगण्डकी–१ र ४, सत्यवती–८, छत्रकोट–१ र २, रुरुक्षेत्र–४, गुल्मीदरबार गाउँपालिका–१, रेसुङ्गा नगरपालिका–१४ मा सुन्तलाका क्षेत्र विस्तार गरिएको हो ।

त्यसैगरी कफी सुपर जोनका लागि कालीगण्डकी–३ र ४ र चन्द्रकोट–६ का तीन वडामा कफीको क्षेत्र विस्तार गरिएको छ । बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिका–५ र ८, मदाने–४ र ७, इस्मा–१ र ३ तथा धुर्कोट–४ र ५ मा क्षेत्र विस्तार गरिएको छ ।

यसैगरि मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिका–२, ३ र ४, चन्द्रकोट–४, छत्रकोट–३ र ५, गुल्मीदरबार–३ र ४ मा मकैको क्षेत्र विस्तार गरिएको छ । जिल्ला परियोजना कार्यान्वयन एवं समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन इकाई खुमलटारले क्षेत्र विस्तारका स्वीकृति प्रदान गरेको थियो ।

अनुगमन समितिले स्थानीय तहको सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्ति लगायतका मापदण्डलाई क्षेत्र विस्तारका लागि छनोटको मुख्य आधार बनाएको हो ।

तिनै मापदण्डका आधारलाई टेकेर क्षेत्र विस्तार गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताए । परियोजनाद्वारा जिल्लाको १२ स्थानीय तहमध्ये मकै जोन कार्यक्रममा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ वडामा कार्यक्रम सञ्चालन गरिँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्